१० पुष , एजेन्सी ।
विश्व फुटबलको उच्च निकाय फिफाले सर्वाधिक विश्वकप फुटबल विजेता राष्ट्र तथा फुटबलको उर्भरभूमि ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने चेतावनी दिएको छ । ब्राजिलको फुटबल फेडेरेसनलाई अदालतले हस्तक्षेप गरेपछि फिफाले यस्तो चेतावनी दिएको हो ।
फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन गर्ने चेतावनी दिएको हो । पछिल्लो समय ब्राजिलको अदालतको हस्तक्षेपका कारण त्यहाँको फुटबल संघ भद्रगोल अवस्थामा पुगेको छ ।
रियो द जेनेरियोको एक अदालतले डिसेम्बर ७ मा ब्राजिल फुटबलका अध्यक्ष एडनाल्डो रोड्रिग्वेजलाई हटाएको थियो । यसै प्रसंगमा फिफाले फुटबलमा सरकारी निकायको हस्तक्षेप स्वीकार नगर्ने बताउँदै जनवरीसम्मा पुरानै अवस्थामा नफर्किए राष्ट्रिय टोली र क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नगराउने चेतावनी दिएको हो ।
साथै फिफाले आफ्ना सदस्य संघहरूको काममा सरकार वा तेस्रो पक्षको हस्तक्षेप स्वीकार नगर्ने बताएको छ । फिफाको निर्देशनपछि दक्षिण अमेरिकी फुटबल एसोसियनले यस विषयमा एक कमिटी बनाएर जनवरी ८ मा छलफल गर्ने बताएको छ । ब्राजिल फुटबल संघको अध्यक्षको रुपमा रोड्रिग्वेजको २०२६ सम्म कार्यकाल रहेको छ ।
२०२१ मा तत्कालिन अध्यक्ष रोजेरियो क्याबेक्लो यौन दुराचारको आरोपमा पदबाट हटेपछि तत्कालिन उपाध्यक्ष रहेका रोड्रिग्वेजले कार्यबाहक अध्यक्षको जिम्मेवारी निभाएका थिए भने २०२२ को मार्चमा अध्यक्षमा निर्वाचित भएका थिए ।
ब्राजिल निकट भविष्यमै कोपा अमेरिका खेल्दैछ भने आगामी विश्वकपका लागि छनोटका खेलहरु पनि खेलिरहेको छ । ब्राजिल फुटबलले पेले, रोनाल्डो, रोबर्टाे कार्लोस, रिभाल्डो, रोमारियो, रोनाल्डिनो, काका, नेयमार जस्ता विश्वस्टार खेलाडीहरु विश्वलाई दिइसकेकोे छ ।