Nepal Times
Nepal Times
3
Shares

सन्दीपविरुद्ध बलात्कार मुद्दाको फैसला आज

सन्दीपविरुद्ध बलात्कार मुद्दाको फैसला आज

१३ पुष, काठमाण्डौ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् । आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ । यो मुद्दामा आइतबारदेखि न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ भइरहेको हो । आइतबार र बुधबार जाहेरवाला र अभियोजन पक्षले बहस गरेका थिए ।

पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरे।अधिवक्ताहरू मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशी अधिकारी, नारायाण चौलागाईं, प्रतिमा कँडेल खरेल र लेखनाथ भट्टराईले पनि बुधबार बहस गरे ।

उनीहरूले बलात्कार भएको दाबी गर्दै दोषीलाई सजाय र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् । २०७९ भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन् । झण्डै डेढ वर्षपछि उक्त मुद्दामा फैसला हुन लागेको हो ।

आज फैसला आए सन्दीपले कि सफाइ पाउँछन् कि उनलाई जेल सजाय हुने छ । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ । पीडित किशोरीको उमेर १८ वर्षभन्दा कम (नाबालिग) भएको दाबी गर्दै सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.