१३ पुष, काठमाण्डौ ।
स्वतन्त्र उमेद्वारका रुपमा चुनाव जितेर धरान उपमहानगरपालिकाका मेयर बनेका हर्क साम्पाङविरुद्ध फेरि एकपटक राजनीतिक दलहरु एकजुट भएका छन् । पाँच राजनीतिक दलले धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको बताएका छन् ।
आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील पाँच राजनीतिक दलले साम्पाङ मेयर भएपछि निरन्तर अराजकतातर्फ लागेको बताएका हुन् । विहीबार एक संयुक्त प्रेस विज्ञप्तिमार्फत नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीले धरानका मेयर साम्पाङले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार गरेको बताएका छन् ।
साम्पाङको सामाजिक सञ्जालको प्रस्तुति र गतिविधिले निरङ्कुश र उदण्ड शैलीमार्फत हिटलरको बाटोमा हिँड्न खोजेकै हुन त ? भन्ने बहसलाई उजागर गरेको दलहरूको भनाइ छ । “हामी धरान उपमहानगरपालिकाको नेतृत्वलाई सचेत गराउँदै संविधान र राष्ट्रप्रति सोही प्रक्रियाबाट निर्वाचित भएका प्रमुखले राष्ट्र प्रमुख÷राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर यथास्थानमा राख्न हुन जोडदार माग गर्दछौँ,“ विज्ञप्तिमा भनिएको छ ।
साम्पांग विजयी भएपछि भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत आरोप लगाइएको छ । उनीहरूले यसै प्रणालीलाई टेकेर अद्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उलङ्घन गर्ने कार्य गरेको ठहर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,राज्य र राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा सञ्चालन हुने व्यवस्थाबाट नै हालमा तीन तहका सरकारहरू सञ्चालन भई रहेको छ । २०७९ को स्थानीय निर्वाचन पश्चात् धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्तिले उपमहानगर प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरी रहेको छ । जन लोकतन्त्रको सुन्दर पक्ष हो । तर विडम्बना धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्ति आए देखि निरन्तर व्यवस्था माथि प्रहार भइरहेको छ ।
साम्पाङले केन्द्र सरकारले चासो नदिएको भन्दै विहीबार आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किराँती राजा यलम्बरको फोटो राखेपछि यसमा तीव्र प्रतिक्रिया आएका छन् । राजनीतिक दलहरुले उनी हिटलरको बाटोमा अघि बढेको बताउँदा केहीले भने उनले अर्को क्रान्ति गरेको टिप्पणी गरेका छन् ।
हर्कले आफ्नो कार्यकक्षमा फोटो राख्नु अगाडी बुधबार, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु! जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु! जय देश!’ भन्दै स्ट्याटस पनि लेखेका थिए । केन्द्रमा आएर प्रधानमन्त्रीसँग भेटेर हाँसीखुसी धरान फर्केका मेयरले गरेको पछिल्लो निर्णयले धेरैलाई आश्चर्यमा समेत पारेको छ । यद्यपी सामाजिक सञ्जालमा उनको यो कामलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् ।