१६ पुष,विराटनगर।
नेपाली पोशाक तथा टोपी दिवसका अवसरमा सोमबार रानी–जोगबनी नाकाबाट नेपाल आउने पर्यटकलाई नेपाली टोपी लगाइदिएर स्वागत गरिएको छ । सोमबार गिरी फाउन्डेसनले नयाँ वर्ष २०२४ र टोपी दिवसको शुभकामना दिँदै भारतीय पर्यटकलाई टोपी र खादा लगाइदिएर स्वागत गरेको हो ।
’गिरी फाउन्डेसन’का अभिषेक गिरीले बिहानै रानी–जोगबनी नाका भएर विराटनगर भित्रने केही पर्यटकलाई टोपी लगाइदिएर स्वागत गरेका थिए । साथै गिरीले रानी–जोगबनी नाकाबाट मात्र नभएर अरू नाकाबाट नेपाल भित्रिने पर्यटकहरूलाई सम्मानका साथ नेपाल भित्र्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग अनुरोध गरेका छन् ।
भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा सुरक्षा निकायले सास्ती दिएको गुनासो आउने गरेको अवगत गराउँदै गिरीले यसो नगरिदिन प्रहरीसमक्ष आग्रह गरेका हुन् । उनले भारतीय प्रहरीसमक्ष पनि नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको बताउँदै नेपालका उपभोक्ता वा पर्यटकप्रति राम्रो व्यवहार गरिदिन अनुरोध गरेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी महेश केसी, विराटनगर महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश साहलगायतले पनि भारतीय पर्यटकलाई स्वागत सम्मान गरेका थिए । । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन राष्ट्रिय टोपी दिवस मनाइँदै आइएको छ । केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई राष्ट्रिय टोपी दिवसको रूपमा मनाउन थालिएको थियो ।