१९ पुष, एजेन्सी ।
गाजामा हमास र इजरायलबीच जारी युद्ध अब अन्य मुलुकहरुमा समेत फैलिन थालेको छ । इजरायलले यसै साता लेबनानमा प्रवेश गरेर एक ड्रोन आक्रमणमा हमासको डिपुटी चीफ सालेह अल अरुरीको हत्या गरेको छ । यता बुधबार इरानमा पूर्व जनरल कासिम सुलेमानीको चिहानमा दुई वटा बम विस्फोट भयो ।
यसमा परि सयभन्दा धेरैको ज्यान गयो, २०० बढि घाइते भएका छन् । यो हमलामा इजराली भूमिका रहेको दाबी गरिएको छ, तर आधिकारिक पुष्टि भएको छैन । यसैबीच इजरायलका जासुसी विभाग प्रमुखले भनेका छन् कि, हामी जहाँ मौका मिल्छ त्यहाँ बदला लिने छौं र लिइ पनि रहेका छौं ।
यद्यपी इरानमा भएको विस्फोटको इजरायलले अहिलेसम्म केही जिम्मा लिएको छैन न त यसबारे कुनै प्रतिक्रिया दिएको छ । तर मोसाद चीफ डेविड बर्नियाको बयानले भने त्यसको संकेत गरेको छ । डेभिड बर्नियाले भने, मोसाद एजेन्सी ती हत्याराहरुलाई निपट्नका लागि तत्पर छ जसले ७ अक्टुवरमा हमला गरेका थिए ।
उनले भने, त्यो हमलाको बदला लिनका लागि हामीलाई समय लाग्नेछ, जस्तो म्युनिख हत्याकाण्डपछि भएको थियो । तर उनीहरुमाथि हाम्रो हात अवस्य नै पर्नेछ, भलै तिनिहरु जहाँसुकै होउन । हामीले आफ्नो बदला लिएरै छाड्ने छौं । डेभिड बर्नियाले बुधबार मोसादका पूर्व चीफ जभि जामिरको अन्तिम संस्कारका क्रममा यस्तो बताएका हुन् ।
जभि जामिरको नेतृत्वमा नै इजरायलले १९७२ मा प्यालेस्टाइनको उग्रवादी समूहहरुमाथि आक्रमण गरेको थियो । डेभिडको यो बयान अरुरीको हत्या भएको ठिक एक दिनपछि आएको हो । अरुरीको हत्याले लेबनानमा सक्रिय उग्रवादी संगठन हिजबुल्लाह पनि विच्किएको छ ।
उसले इजरायलसंग यसको बदला लिने धम्की दिएको छ । हिजबुल्लाहले भनेको छ कि, इजरायलको यो हमला लेबनानको सम्प्रभुतामाथि पनि आक्रमण हो । हिजबुल्लाहको यो धम्कीपछि इजरायल हाईअलर्टमा रहेको छ । यसै कारण इजरायलले बयान जारी गर्दै भनेको छ, हाम्रो हमला लेबनानमाथि होइन, बरु हाम्रा मानिसहरुलाई मार्नेमाथि हो भन्दै उसले स्पष्टीकरण दिएको छ ।
बुधबार भएको हमलामा अरुरीका साथै हमासका थप ६ लडाकुहरु पनि मारिएका थिए । डेभिड बर्नियाले भने, हरेक अरबीहरुले यो बुझुन् कि यदी उनीहरुका सन्तानले ७ अक्टोबरको हमलामा भाग लिएका थिए भने तिनिहरुले उनीहरुको टाउको काखमा राखेर रुनु पर्नेछ ।