२३ पुष,एजेन्सी ।
स्टार फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च कपमा रिभलविरुद्ध ९–० को फराकिलो जित निकालेको छ । फ्रान्सको छैटौँ श्रेणीको क्लबमाथि पीएसजीले निरन्तर दबाब बनाएको थियो । रिभलको मैदानमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गर्दा रान्डाल कोलो मुयनीले दुई गोल गरे ।
यस्तै, मार्को असेन्सियो, गोन्कालो रामोस, र चेर एन्डोउरले समान एक गोल गरे । पीएसजीले एक गोल घरेलु टिमका म्याक्सेन्स ए’गुसेनबाट आत्मघाती उपहार पाएको थियो । फ्रान्सका कप्तान समेत रहेका एम्बाप्पेको यो कीर्तिमानी गोल हो । फ्रेन्च लिगमा एमबाप्पेले २२ खेलमा ३० गोल गरिसकेका छन् ।
यता आर्सनललाई उसैको मैदानमा २–० ले हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति इमिरेट्स रंगशालामा पाहुना टिमलाई जित दिलाउन लुइस डियाजले एक गोल गरे । लिभरपुलले अर्को एक गोल घरेलु टिमबाट आत्मघाती उपहार पाएको थियो ।
आर्सनलले पहिलो हाफमा दबाब कायम गरे पनि पाहुना टिमविरुद्ध अग्रता बनाउन सकेन । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार बारमा लागेर फर्कंदा काइ हाभार्ट्ज र रेइस नेल्सनले पनि प्राप्त मौकाको सदुपयोग गर्न सकेनन् । लिभरपुलले नियमित कप्तान भर्जिल भान डाइक र फरवार्ड मोहम्मद सालाहबिना नै जित निकालेको हो ।
भान डाइक अस्वस्थ र सालाह अफ्रिका कप अफ नेसन्सका निम्ति इजिप्टमा छन् । यस्तै मिडफिल्डर केभिन डी ब्रुयना फर्किएको खेलमा हडर्सफिल्ड टाउनविरुद्ध ५–० को सहज जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
आइतबार राति घरेलु मैदान इत्तिहाद रंगशालामा साविक विजेता सिटीलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । हुलियन आल्भारेज र जेरेमी डोकुले समान एक गोल गरे । सिटीले अर्को एक गोल पाहुना टिमबाट आत्मघाती उपहार पाएको थियो । उता बार्बास्ट्रोविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै बार्सिलोना कोपा डेल रेको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति क्याटालन ‘जायन्ट’लाई जित दिलाउन फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले गोल गरे । बार्बास्ट्रोका एडी मेसा र मार्क प्राटले गोल फर्काए । कोपा डेल रेअन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा रियाल सोसिडाडले मालागालाई १–० र टेनेरिफेले लास पाल्मेसलाई २–० ले हराए ।