कोशीको सभामुख बनेका अम्बरबहादुर को हुन् ?

२३ पुस ८०, मंगलबार

२३ पुष,विराटनगर ।
कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

Advertisement

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो । विष्ट गत निर्वाचनमा झापाबाट समानुपातिकतर्फ राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएका थिए । २०१० सालमा जन्मिएका विष्ट विद्यार्थी कालमा अखिलबाट राजनीति प्रवेश गरेका हुन् ।

उनी विद्यार्थी कालमा महेन्द्र मोरङ क्याम्पस अध्ययन गर्दा अखिलको इकाई उपसभापतिमा उम्मेदवार समेत बनेका थिए । तर उनले त्यसबेला उपसभापतिमा पराजय भोगेका थिए । अखिलको राजनीतिमा हार बेहोरेपछि विष्ट पञ्चायती राजनीतिमा प्रवेश गर्दै तत्कालीन गाउँपञ्चायतको वडाध्यक्षमा निर्वाचित भए ।

Advertisement

उपप्रधानपञ्चपछि जिल्ला पञ्चायतको सदस्य १० वर्ष भएर काम गरेका विष्ट सोही अवधिमा जिल्ला पञ्चायतको उपसभापति समेत भएर काम गरेका थिए । २०४६ पछि पनि राष्ट्रिय पञ्चायतको राजनीतिमै आबद्ध विष्ट तत्कालीन शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सहकारी विकास बोर्डको सदस्यसचिव समेत बनेका थिए ।

Advertisement

त्यसपछि राप्रपाको जिल्ला अध्यक्ष हुँदै हाल राप्रपाको केन्द्रीय सदस्य रहेका विष्ट पछिल्लो निर्वाचनमा प्रदेशतर्फ समानुपातिक उम्मेदवार बनेका थिए । राप्रपा पृष्ठभुमी भएपनि संविधानको परिधिभित्र रहेर काम गर्ने विष्टको भनाइ छ । यसअघि भने २०७९ पुस २६ गते कोशी प्रदेशको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकमा पहिलो पटक सम्बोधन गरेका विष्टले प्रदेश संरचना खारेजीको विषय उठाएका थिए।

त्यतिबेला उनले भनेका थिए, ‘यो प्रदेश राखीराख्नु उपयुक्त हन्छ कि खारेज गर्न उपयुक्त हुन्छ भन्ने छलफलको विषय छ,’ । ‘देशलाई ठूलो आर्थिक भार भएर भोलि हामी इथोपिया जस्तो हुने अवस्थामा त पुग्दैनौं ?’ उनले त्यसपछि पनि प्रदेश सभा बैठक र सार्वजनिक कार्यक्रममा प्रदेश संरचनाको विरोध गर्दै आएका थिए । तर अहिले उनी स्वयंनै प्रदेशसभाको सभामुख बनेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top