२६ पुष,विराटनगर ।
नेपालका फुटबल गोलकिपर प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् । मनिषले मलेसियन फुटबल संघ (एफएएम) ले आयोजना गरेको कोर्समार्फत गोलिकपिङ ए लाइसेन्स प्राप्त गरेका हुन् ।
तिम्सिनाले यो आफ्नो करियरको भर्खर सुरुआत भएको बताउदै आफू व्यावसायिक जीवनमा प्रवेश गरेको अनुभूति भएको बताएका छन् । मनिष तीन वर्षदेखि आईलिग क्लब गोकुलम केरलाको गोलकिपर प्रशिक्षक छन् । उनी हाल कलिंगा सुपर कपका लागि आफ्नो टोलीसँग ओडिशामा छन् ।
आई लिगमा आवद्ध हुने उनी पहिलो नेपाली प्रशिक्षक समेत हुन् । उनले आई लिग उपाधि पनि जितेका छन् । मनिषले गत सिजन शही स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबको गोलकिपर प्रशिक्षकका रूपमा काम गरेका थिए ।
विराटनगर निवासी मनिषले खेलाडीका रुपमा थ्री स्टार, रानीपोखरी कर्नर टिम (आरसीटी), हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भू, ब्रिगेड ब्वाइजबाट व्यावसायिक फुटबल खेलिसकेका छन् ।मनिषले पूर्वाञ्चलबाट पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए ।
उनले नेपाली यु–१५ राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् । यो लाइसेन्ससँगै तिम्सिनाले एशियाका ठूला लिग र ठूला टोलीमा काम गर्ने लक्ष्य राखेका छन् ।