Nepal Times
Nepal Times
3
Shares

नेपाल भूकम्पको उच्च जोखिममा, कस्तो छ इतिहास ?

नेपाल भूकम्पको उच्च जोखिममा, कस्तो छ इतिहास ?

२ माघ, विराटनगर ।

विगतमा भूकम्पले दिएको कहालिलाग्दो घटनाको सम्झनामा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । १९९० सालकै विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।

भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । यसपालि ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराकासाथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । आज पनि भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा भयो । यस्तै ललितपुर र भक्तपुरमा पनि कार्यक्रम भए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी पनि हुनेछ । तर ९० सालयता पटक पटक ठूला वा मझौला भूकम्प गइरहँदा यस्ता गोष्ठीमा बोलिएका कुराहरु वा सरकारले घोषणा गरेका कार्यक्रमहरु औचित्यहिन देखिएका छन् ।

वर्षेनी दिवसका नाममा गरिने यस्ता कार्यक्रमले भूकम्पबाट हुने धनजनको क्षतिलाई कम गरेको देखिएन । नत भुकम्पपछिको उद्यार–राहत, पुनस्थापनामा नै चुस्त हुन सकेको छ । पछिल्लो समय जाजरकोट, बझाङ र डोटीको भूकम्पदेखि विगतको ९० सालको भूकम्पबाट पाठ सिकेर अहिलेसम्म तयारी राम्रो पुगेको छैन भन्ने कुरा हाम्रो वर्तमान पूर्वतयारीको अवस्थाले देखाउँछ ।

भूकम्प गएको साढे दुई महिना बित्दा जाजरकोट, रुकुम पश्चिम, सल्यान, बाजुरा र बझाङमा २० हजार १४७ वटा मात्र आवास निर्माण भएका छन । यो मुटु काम्ने चिसोमा अझै ४७ हजार ६३३ आवास निर्माण हुन सकेका छैनन । १० हजार ३०५ वटा आवास निर्माणाधीन छन । २० हजार १२५ लाभग्राहीले रकम सम्झौता गरेका छैनन ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुल लाभग्राहीको संख्या ६७ हजार ७ सय ८० छ । यसमध्ये ४७ हजार ६५५ लाभग्राहीले मात्र रकम सम्झौता गरेका छन । सम्झौता गर्नासाथ लाभग्राहीले पहिलो किस्ताका रुपमा २५ हजार र आवास निर्माण गरेपछि थप २५ हजार रुपैयाँ रकम पाउनेछन ।

प्राधिकरणका अनुसार भूकम्प प्रभावितको संख्या थपिइरहेकाले ९५ हजार ७८७ लाभग्राही पुग्ने अनुमान छ । यसका लागि ४ अर्ब ७९ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ ।सल्यान र बझाङमा सम्पन्न निजी आवासको संख्या भने एकदमै न्यून छ । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकले बाजुरामा अहिलेसम्म एउटा पनि निजी आवास निर्माणको काम सकिएको छैन ।

अहिलेको चिसो र बर्खा धान्ने गरी आवास निर्माणको काम गरिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन् । तर जसरी काम भइरहेको छ त्यसले नतिजा दिने देखिन्न । पोखरेल नै भन्छन्, ‘केही जिल्लाका पालिकामा शतप्रतिशत आवास निर्माणको काम भएको छ । केही–केही पालिकामा हुन सकेको छैन,’ उनले भने, ‘यो चिन्ताको विषय हो । प्रदेश र स्थानीय सरकारलाई यसबारे जानकारी गराएका छौं ।’

अहिलेसम्म प्राधिकरणबाट जिल्ला विपद् कोषमा २ अर्ब २६ करोड निकासा भएको छ । तर यति रकमले अहिले कायम लाभग्राहीलाई दोस्रो किस्ता बाँड्न पुग्दैन । अहिले कायम लाभग्राहीलाई अस्थायी आवास निर्माणका लागि ३ अर्ब ३८ करोड ९० लाख रुपैयाँ चाहिन्छ, जसले गर्दा तत्काललाई १ अर्ब १२ करोड ९० लाख रुपैयाँ चाहिने देखिन्छ ।

‘ठूलो चुनौती आर्थिक स्रोत अभावको छ,’ कार्यकारी प्रमुख पोखरेलले भने, ‘गृह मन्त्रालयमार्फत अर्थसँग १० अर्ब मागिए पनि एक अर्ब रुपैयाँ मात्र उपलब्ध भएको छ ।’ अर्थसँग आर्थिक स्रोतको गाँठो फुकाउन प्राधिकरणको विपद् कोषको रकम उपलब्ध गराएको प्रमुख पोखरेलले बताए ।सरकारले आवस्यक रकम छिटो निकाशा नगर्दा र लाभग्राहीकै पहिचानमा अबेर हुँदा भूकम्पमा बाँचेकाहरु एकपछि अर्को गर्दैै यो चिसोले ज्यान गुमाउन पुगेका छन् ।

पूर्व तैयारी त धेरै परको कुरा, उद्यार, पुनस्थापनामै सरकारले छिटोछरितो ढंगले कामै गर्न सकेको छैन । यस्तोमा नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औँ स्थानमा रहेको विभिन्न अध्ययनहरूले जनाएपछि जनतामा चिन्ता थप बढेको छ । तातो अर्धतरल सतहमाथि तैरिइरहेका इन्डियन प्लेटहरू र युरोसियन प्लेटहरू आपसमा टकराव हुँदा हिमालय क्षेत्रको जमिनमुनि शक्ति थुप्रन्छ ।

त्यही शक्ति बाहिर निस्कन भूकम्प जाने विज्ञहरू बताउँछन् । नेपालमा विगत आठ सय वर्षको इतिहासलाई हेर्दा विसं १२१८ मा गएको भूकम्पलाई पहिलो अभिलेख रहेको भूकम्प मानिन्छ । काठमाण्डौ केन्द्रविन्दु रहेको ७ दशमलव ८ रेक्टरको यस भूकम्पमा परि त्यस बखतका राजा अभय मल्लको निधन भएको थियो । भूकम्पमा परेर २२ सय मानिसले ज्यान गुमाएका थिए । काठमाण्डौको त्यस बेलाको एक तिहाइ जनसङ्ख्याले भूकम्पका कारण मृत्युवरण गर्नुपरेको थियो ।

यस्तै विसं १३१७ मा सगरमाथा अञ्चल केन्द्रविन्दु भएर भूकम्प गएको थियो जुन ७ दशमलव १ रेक्टर स्केलको थियो । भूकम्पमा परि एक सय जनाले ज्यान गुमाएका थिए । त्यसपछि विसं १४०१ म ७ दशमलव ९ रेक्टर स्केलको यस भूकम्पमा परि एक सय जनाले ज्यान गुमाएका थिए । भूकम्पको केन्द्रविन्दु भने पूर्वी नेपालको मेची अञ्चल रहेको थियो ।

विसं १४६५ मा नेपाल–तिब्बतको सीमा केन्द्रविन्दु भएर यस भूकम्पको मापन ८ दशमलव २ रेक्टर स्केल रहेको थियो । भूकम्पमा परेर त्यस बेला २५ सय जनाले ज्यान गुमाएका थिए । विसं १५६२ को भूकम्पमा मुस्ताङ केन्द्रविन्दु भएर ८ दशमलव ९ रेक्टरको थियो । यो नै नेपालको इतिहासमा सबैभन्दा ठूलो भूकम्प मानिन्छ । भूकम्पका कारण त्यस बेला ६ हजार जनाको ज्यान गएको थियो ।

त्यस बेलाको जनसङ्ख्याको झन्डै ३० प्रतिशत मानिसले यही भूकम्पका कारण ज्यान गुमाएका थिए । विसं १७३८ मा कोशी अञ्चल केन्द्रविन्दु भएर गएको ८ रेक्टरको यस भूकम्पले त्यस बेला ४५ सय मानिसको ज्यान गएको थियो । यस्तै विसं १८२४ मा बाग्मती अञ्चलको उत्तरतर्फ केन्द्रविन्दु भएको यस भूकम्पले पनि ठूलो मानवीय क्षति पु¥याएको देखिन्छ । ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पका कारण त्यस बेला ४ हजार मानिसको ज्यान गएको थियो ।

विसं १८९० मा ८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसमा ६ हजार ५ सय जनाले ज्यान गुमाएका थिए । जसको केन्द्रविन्दु काठमाण्डौ उपत्यकाको वरपर रहेको थियो । त्यसको एक सय वर्षपछि १९९० माघ २ मा ८ रेक्टर स्केलकै भूकम्प आएको थियो । सङ्खुवासभाको चैनपुर केन्द्रविन्दु भएर गएको भूकम्पले ८ हजार ५ सय ९१ जनाको ज्यान गयो । २ लाख ७ हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

त्यसअघि १९२६ मा पनि काठमाण्डौ केन्द्रविन्दु भएर गएको भुकम्पमा परि ७ सय ५० जनाको ज्यान गएको थियो । भूकम्प ६ दशमलव ५ रेक्टर स्केल मापन गरिएको थियो । यस्तै १९७३ मा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस बेला तीन हजार पाँच सय मान्छेको ज्यान गएको थियो । विसं २०२३ मा सुदूरपश्चिममा गएको ६ दशमलव ३ रेक्टरको यस भूकम्पले ८० जनाको ज्यान गयो ।

त्यस क्षेत्रका थुप्रै घर भत्किए । २०३७ मा बझाङमा आएको ६ दशमलव ५ रेक्टर स्केलको यस भूकम्पले २ सय जनाको ज्यान गयो । २०४५ मा उदयपुर जिल्ला केन्द्रविन्दु भएर गएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पका कारण पूर्वी नेपलमा ठूलो क्षति हुन पुग्यो । भूकम्पका कारण १ हजार ९१ जनाले ज्यान गुमाउन पुगे । ६ हजार ५ सयभन्दा बढी घर भत्किए ।

२०६८ मा पूर्वी नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्र केन्द्रविन्दु भएर गएको भूकम्पका कारण १ सय ११ जनाले ज्यान गुमाउन पुगे ।२०७२ साल वैशाख १२ गते दिउँसो १२ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले काठमाण्डौ, गोरखा र सिन्धुपाल्चोकमा ठूलो क्षति पु¥यायो । भूकम्पका कारण ८ हजार ८ सय ५७ जनाले ज्यान गुमाए ।भूकम्पले १० हजार ८ सय ३ सरकारी भवनहरू पूर्णरूपमा क्षतिग्रस्त भए ।

२ लाख ९७ हजार २ सय ६६ घरह पूर्ण क्षति भयो । भूकम्पमा परेर युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका काठमाण्डौको वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, बौद्धनाथ स्तुपा, स्वयम्भूनाथ स्तुपामा क्षति पुगेको थियो । यसै भूकम्पमा परेर धरहरा पूर्णरूपमा क्षतिग्रस्त भयो । त्यसपछि वैशाख २९ गते दोलखा केन्द्रविन्दु भएर गएको गोरखा भूकम्पको परकम्पका कारण २ सय १३ जनाले ज्यान गुमाए ।

विसं २०७९ मा पश्चिम नेपालको डोटी केन्द्रविन्दु भएर गएको ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पका कारण ६ जनाको ज्यान गयो । २०८० मा पाि भूकम्पले थप पीडा थपिसकेको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६ दशमवल ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट तथा रुकुममा ठूलो धनजनको क्षति भयो । १ सय ५७ जनाभन्दा बढीले भूकम्पका कारण ज्यान गुमाए ।

त्यस्तै ९ सय ३७ घर पूर्ण क्षति तथा २ हजार ९ सय ५४ घरमा आंशिक क्षति पुगेको छ । त्याहाको भत्किएका घरका छाना अझै उठिसकेका छैनन् । नेपाल भूकम्पीय जोखिमको सूचीमा छ । विज्ञले सजग र सचेत रहदै पूर्वतयारीमा रहन सुझाइ रहेका छन् । यस्तोअवस्थामा पटक पटक ठूला भूकम्पहरु गइँदा पनि जनस्तरमा र सरकारीस्तरबाट भएका भनिएका पूर्व तयारीहरुलाई तपाइँले कसरी हेर्नु भएको छ ।

वर्षको एक दिन, दिवसका दिन आयोजित कार्यक्रमहरु कति सार्थक छन् ? यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.