४ माघ ,काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएराति युगाण्डा प्रस्थान गरेका छन् । असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डाको राजधानी कम्पालातर्फ लागेका हुन् ।
कम्पालामा माघ ५ र ६ गते असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा हुँदै छ । प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार विहान २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन् । प्रधानमन्त्रीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई भोली माघ ५ गते सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रवार सम्बोधन गर्नेे कार्यक्रम रहेको छ । शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका थिए । असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरूमध्ये नेपाल पनि एक हो । नेपालको परराष्ट्र नीति असंलग्नताको सिद्धान्तमा आधारित छ ।
प्रधानमन्त्री माघ ७ गते नेपाल फर्किने कार्यक्रम छ । यसबीच प्रधानमन्त्रीको अनुपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।