४ माघ ,एजेन्सी ।
अमेरिकाले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि आक्रमण गरेको दाबी गरेको छ । हुथी विद्रोहीहरूले मिसाइल प्रहार गर्ने तयारी गरिरहेकाले आफूले पहिले आक्रमण गर्नुपरेको अमेरिकाको दाबी छ । अमेरिकी सेनाले बुधबार हुथीले प्रहारका लागि तयार अवस्थामा राखेको १४ मिसाइललाई लक्ष्य गरी आक्रमण गरिएको जनाएको छ ।
अमेरिकी सेनाले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘ती क्षेप्यास्त्रले यस क्षेत्रमा अवस्थित व्यापारी जहाज र अमेरिकी नौसैनिक जहाजका लागि खतरा खडा गरेको छ र तस् जुनसुकै बेला प्रहार गर्न सकिन्छ । यस कारण अमेरिकी सैनिकले आत्मरक्षाको अधिकार र जिम्मेवारीलाई पालना गर्नुपरेको हो।
‘हामीले उठाएका यी स्ट्राइक र अन्य कदमले लाल सागर, बाब अलमन्डब र एडेनको खाडीमा अन्तर्राष्ट्रिय र व्यावसायिक ढुवानी गतिविधिमा आक्रमण गर्ने हुथी विद्रोहीको क्षमतालाई कम गर्नेछ’, अमेरिकाले भनेको छ । यता इजरायलको नियन्त्रणमा रहेको वेष्ट बैंकका अधिकारीहरुले इजरायलले निर्दोष प्यालेस्टाइनी नागरिकहरुलाई लक्षित गरी आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
सशस्त्र समूहहरूसँग कुनै सम्बन्ध नभएका प्यालेस्टाइनी नागरिकहरूको समूहलाई लक्षित गरेर आक्रमण गर्नु इजरायलको गल्ती भएको उनीहरुले बताएका छन् । उनीहरुका कारण इजरायली सेनालाई कुनै खतरा नभएको भन्दै वेष्ट बैंकले इजरायलको आक्रमणको विरोध गरेको बीबीसीले जनाएको छ ।
यसअघि जनवरी ७ तारिखमा इजरायलको एउटा गाउँमा एकै घरमा चारजना दाजुभाईसहित सात जनाको आक्रमणका क्रममा ज्यान गएको थियो । इजरायलले उनीहरु विद्रोही समूह रहेको दाबी गर्दै आएको छ । तर वेष्ट बैंकले मारिनेमा कृषि क्षेत्रमा काम गर्ने श्रमिक रहेको भन्दै इजरायलविरुद्ध विभिन्न प्रमाणहरु देखाइरहेको खबरमा उल्लेख छ ।
इजरेली राष्ट्रपति नेतन्याहुले हमासको अस्तित्व गाजा क्षेत्रबाट समाप्त नगरुन्जेलसम्म आक्रमणमा कुनै परिवर्तन नहुने बताउँदै आएका छन् । यद्यपि पछिल्लो समय गाजामा खाद्यान्न आपूर्तिका लागि भने हमास र इजरेलबीच सम्झौता भएकोछ ।