Nepal Times
Nepal Times
126
Shares

संसद् महासचिवमको नियुक्ति किन अड्कियो ? राष्ट्रपतिलाई प्रश्न

संसद् महासचिवमको नियुक्ति किन अड्कियो ? राष्ट्रपतिलाई प्रश्न

७ माघ, काठमाण्डौ ।
संघीय संसद्को महासचिव नियुक्ति प्रक्रियालाई शीतल निवासले करिब डेढ महिनादेखि अड्काइदिएपछि सभामुख देवराज घिमिरे राष्ट्रपतिलाई अर्को पत्र लेखेका छन् । घिमिरेले प्रतिनिधि सभाको महासचिव नियुक्तिको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरणपत्र पठाएका छन् ।

यसअघि महासचिव नियुक्तिका लागि पठाइएको सिफारिस के भइरहेको छ ? भन्दै सभामुख घिमिरेले ‘स्मरण’ पत्र पठाएका हुन् । सभामुख घिमिरेले माघ ४ गते स्मरण पत्र पठाएको राष्ट्रियसभा अध्यक्षका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा सभामुख घिमिरेले प्रतिनिधि सभाका सचिव पद्ममप्रसाद पाण्डेयलाई महासचिव नियुक्तिका सिफारिस गरेका थिए । तर, राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयको नियुक्ति सिफारिस ‘होल्ड’मा राखेका थिए ।

तत्कालीन महासचिव भरतराज गौतमले संसद्को महासचिवबाट राजीनामा दिएपछि सभामुख र राष्ट्रियसभा अध्यक्षले पाण्डेयलाई नियुक्तिको सिफारिस गरेपनि पाण्डेयको नागरिकता र पासपोर्टमा विवाद आएको थियो । सोहीकारण देखाउँदै राष्ट्रपतिले पाण्डेयको नियुक्ति होल्डमा राखेको बुझिएको छ ।

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुख घिमिरेले महासचिव नियुक्तीबारे स्मरणपत्र प्राप्त भएको जानकारी दिए । उनले भने, ‘महासचिव नियुक्तिबारे के भइरहेको छ भनेर स्मरण पत्र प्राप्त भएको छ ।’ महासचिव नियुक्तिको प्रक्रिया अहिले राष्ट्रिय सभा निर्वाचनका कारण अघि बढ्न नसकेको भन्दै निर्वाचनपछि प्रक्रिया बढ्ने बताए ।

मंसिर २५ गते तत्कालीन महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि गरिएको सिफारिस अलपत्र परेपछि संसद्बाट राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र लेखिएको हो । संघीय संसद् श्रोतका अनुसार घिमिरे र तिमल्सिनाद्वारा हस्ताक्षरित पत्र तीन दिनअघि राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो ।

राष्ट्रपतिले उक्त सिफारिस अड्काइदिएपछि पाण्डेलाई गत मंसिर २७ गते संसद् सचिवालयको कार्यवाहक महासचिव बनाइएको थियो । महासचिवमा पाण्डेको नियुक्तिबारे संसद् र राष्ट्रपतिबीच द्वन्द्वको अवस्था देखिएको छ । यस्तो अवस्थामा संसदको नेतृत्वबाट राष्ट्रपतिलाई फेरि अर्को पत्र गएको हो ।

संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा पाण्डेको नाम संघीय संसद्को महासचिवमा सिफारिस भएको थियो । नौ महिना कार्यकाल बाँकी रहँदै तत्कालीन महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई नयाँ महासचिवका रुपमा संसद्बाट भएको सिफारिस राजनीतिक कारणले अड्किएको हो ।

संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायब महान्यायधिवक्ता थिए । उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिव नियुक्त गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.