११ माघ,एजेन्सी ।
साउदी अरेबियामा ७० वर्षपछि पहिलोपटक मदिरा पसल खुला गरिएको छ । तर मदिरा पिउन भने गैरमुस्लिमले मात्र पाउनेछन् । गैरमुस्लिम प्रवासीहरूको समूहलाई लक्षित गर्दै मदिरा पसल खोल्न लागिएको हो । ग्राहकहरू कूटनीतिक कर्मचारीहरूमा सीमित हुनेछन् । साउदी अधिकारीहरूका अनुसार अवैध रूपमा मदिराको व्यापार गर्न भने पाइने छैन ।
सन् १९५२ मा राजा अब्दुलअजिजका एक छोराले मदिरा सेवन गरी बेलायती कूटनीतिज्ञको हत्या गरेपछि त्यसयता साउदीमा मदिरामा प्रतिबन्ध लागेको थियो । मदिराको नयाँ स्टोर रियादको कूटनीतिक क्वार्टरमा शहरको केन्द्रको पश्चिममा अवस्थित हुनेछ । योजनाहरूसँग परिचित एक स्रोतले रोयटर्सलाई भन्यो कि पसल एकहप्ता भित्र खोल्ने अपेक्षा गरिएको थियो ।
यद्यपि त्यहाँ सीमितताहरू हुनेछन् । मदिरा पिउन मन लागेका दूतावासका कर्मचारीहरूले पहिले नै नाम दर्ता गर्नुपर्नेछ र सरकारबाट मदिरा पिउन अनुमति प्राप्त गर्न आवश्यक छ । यस्तै, मदिरा स्टोरमा २१ वर्षमुनिका कसैलाई पनि अनुमति दिइने छैन । कूटनीतिज्ञबाहेक अन्य विदेशीहरूका निम्ति मदिरा किन्ने सुविधा उपलब्ध हुने छैन ।
साउदी अरबमा तोकिएका मानिसलाई मदिरा उपलब्ध भए पनि त्यसको प्रयोग र प्रयोगपछिका व्यवहारबारे भने सचेत हुनुपर्ने देखिन्छ । साउदी कानुनअनुसार मदिरा साथमा राखेको वा उपयोग गरेको अपराधमा जरिवाना, जेल सजाय, सार्वजनिक रूपमा कोर्रा प्रहार वा देशनिकालासम्म हुन सक्छ ।
मदिरा खुकुलो पार्ने पछिल्ला प्रयासलाई साउदी अरबका युवराज तथा वास्तविक शासक मोहम्मद बिन सलमानले अघि सारेका उदारीकरणसम्बन्धी भिजन २०३० अभियानकै एक पाटोका रूपमा हेरिएको छ । खाडीका अन्य देशहरूमा पनि मदिरासम्बन्धी यस्तै नियम छ । तर यूएई र कतारमा होटल, क्लब तथा बारहरूमा पनि २१ वर्ष माथिका गैरमुस्लिमहरूलाई मदिरा बेच्न पाइन्छ ।