Nepal Times
Nepal Times
3
Shares

बालेन, हर्क र हमालले गरे चुनाव बहिस्कार, कारण एक

बालेन, हर्क र हमालले गरे चुनाव बहिस्कार, कारण एक

११ माघ ,काठमाडौं ।
राष्ट्रिय सभाका १९ सदस्यका लागि भएको मतदान सकिएको छ । आज विहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा गरी ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन् । तर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले भने राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन् ।

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन् । तीनै जना मेयरले कार्यव्यवस्ता देखाउँदै मतदान बहिस्कार गरेका छन् । कोशीमा कुल ३६७ मतदाता रहेकोमा ३६४ मतदाता मतदानमा सहभागी भए ।

कोशीको निर्वाचनमा धरानका हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अनुपस्थित भए भने झापा गाउँपालिकाका जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनी पनि मतदानमा सहभागी भएनन् । जयप्रकाश अस्पताल भर्ना भएका छन् भने हर्कले आफु श्रमदानमा ब्यस्त रहेको भन्दै श्रमदानमा ब्यस्त मान्छेले भोट हाल्न नभ्याउने बताएका छन् ।

मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । १०७ प्रदेश सांसद र २६७ पालिका प्रमुख उपप्रमुख मतदाता रहेको मधेस प्रदेशमा ३७४ मतदाताले मतदान गरेका छन् । त्यस्तै वाग्मतीमा ३४७ मतदाता रहेकोमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना मतदानमा अनुपस्थित भए ।

गण्डकीमा २२९ जनाले मतदान गर्दा सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने मतदानमा सहभागी भएनन् । त्यस्तै लुम्बिनीमा ३०५ जना मतदाता रहेकोमा स्थानीय तहको दुई मत खसेन । कर्णालीमा शत प्रतिशत मतदान भएको छ । कर्णालीमा १९६ मतदाता रहेका थिए ।

सुदूरपश्चिममा २२६ मतदाताले मतदान गरेका छन् । मतदान सकिए लगत्तै अब मतगणना थाल्ने र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले साँझ ७ बजेभित्र सबै प्रदेशमा मतगणना सम्पन्न गरी आयोगले परिणाम सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.