१६ माघ ,एजेन्सी ।
अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनल मेसीको टोलीले साउदी अरबमा हार व्योहोरेको छ । साउदी भ्रमणमा रहेको इन्टर मायामी मैत्रीपूर्ण खेलमा अल हिलालसँग पराजित भएको हो । सोमबार अल हिलालसंग इन्टर मायामी ४–३ ले पराजित भएको थियो ।
किंगडम एरिनामा भएको खेलमा अल हिलालको जितमा अलेक्सजेन्डर मित्रोभिच, अब्दुल्ला अल हमदम, माइकल र माल्कोमले गोल गरे । मायामीका लागि मेसी, लुइस स्वारेज, र डेविड रुइजले गोल गरे । १०औं मिनेटमा मित्रोभिचको गोलबाट अल हिलालले अग्रता लिएको थियो ।
तीन मिनेटपछि नै हमदमले टोलीको अग्रता दोब्बर बनाए । स्वारेजले ३४ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने कोसिस गरे । मायामी आबद्ध भएपछि स्वारेजको त्यो पहिलो गोल हो । माइकलले ४४ औं मिनेटमा गोल गर्दा अल हिलालले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा एक मिनेटमा मायामीले २ गोल गरेपछि खेल रोमान्चक बनेको थियो । ५४ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गरे भने ५५ औं मिनेटमा रुइजले गोल गरेपछि खेलमा ३–३ को बराबरी भएको थियो । तर खेल सकिन २ मिनेट बाँकी रहँदा माल्कोमले गोल गरेका थिए ।
त्यहि गोल खेलको निर्णायक बनेको थियो । मेसीको नेतृत्वमा रहेको टोलीले अब बिहीबार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासारको सामना गर्नेछ । यता प्यालेस्टाइनविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै घरेलु टोली कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
३७औं मिनेटमा ओडे दब्बाघको गोलबाट प्यालेस्टाइनले अग्रता लिएको थियो । तर, कतार पहिलो हाफमा नै खेलमा बराबरी गर्न सफल भएको थियो । इन्ज्युरी समयको छैटौं मिनेटमा हसन अल हेयदसले बराबरी गोल फर्काएका थिए ।
४९ औं मिनेटमा प्राप्त पेनाल्टीलाई आक्राम अफिफले गोलमा परिणत गरेपछि कतारले अग्रता बनाएको थियो । त्यसलाई जोगाउँदै आयोजक टोली अन्तिम आठमा पुगेको थियो । एसियन कपमा आज दुई प्रि क्वाटरफाइनलमा खेल हुनेछन् । नेपाली समयअनुसार साँझ ५ः१५ बजे उज्वेकिस्तान र थाइल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ । राति ९ः४५ मा साउदी अरेबिया र दक्षिण कोरियाले एकअर्काको सामना गर्नेछन् ।