१७ माघ ,काठमाडौं ।
ढाकामा आगामी फेब्रुअरी २ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने प्रतियोगिताका सहभागिताका लागि नेपाली टिम ढाका प्रस्थान गरेको छ । यसअघि सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमबीच प्रतियोगिताका लागि नेपाली टिमलाई बिदाइ गरेको थियो ।
तर ढाका प्रथान गर्ने टोलीमा रहेका खेलाडी र पदाधिकारीमध्ये साफ यू–१९ महिला च्याम्पियन खेलाउन बंगलादेश जाने तयारीमा रहेकी फिफा सहायक रेफ्री राधिका शाक्यलाई विमानस्थलबाटै फर्काइएको छ । बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)को तर्फबाट अञ्जना राई र राधिका शाक्यलाई रेफ्रीका निम्ति ढाका जाने तय भएको थियो ।
प्रतियोगिताका लागि एन्फाले सोमबार नेपाली युवा टिमलाई बिदाइ गर्दा राई र शाक्यलाई पनि बिदाइ गरेको थियो । तर, त्यसको दुई दिनपछि बुधबार नेपाली टिम र रेफ्री राई बंगलादेश प्रस्थान गर्दा शाक्यलाई भने विमानस्थलबाटै फर्काइएको छ ।
शाक्यले बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसँग सामान्य भनाभन जस्तो परिस्थिति बनेको भए पनि किन नाम हटाइयो भन्नेबारे जानकारी नभएको उनले बताएकी छन् । नेपाली टिमले बालगोपाल साहुखलको प्रशिक्षण र सारा महर्जनको कप्तानीमा प्रतियोगिता खेल्नेछ ।
प्रतियोगिताको यस संस्करणमा नेपालसँगै बंगलादेश, भारत र भुटान सहभागी छन् । सिंगल राउन्ड रोविन लिग पद्दतिमा हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि खेल्नेछन् । नेपालले फेब्रुअरी २ मा घरेलु टिम बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेल नेपालले फेब्रुअरी ४ मा भुटानविरुद्ध खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा भारतसँग फेब्रुअरी ६ मा खेल्नेछ । यसअघि टोलीको विदाइ गर्दै नेपाली युवा महिला टिमका प्रशिक्षक बालगोपाल साहुखलले आफुहरुको लक्ष्य च्याम्पियन हुने रहेको बताएका थिए ।
नेपालले यसअघि भएका चार संस्करणमा प्रतिस्पर्धा गरे पनि हालसम्म उपाधि जित्न सकेको छैन । नेपालले यसअघि सन् २०१८ र २०२३ को संस्करणमा फाइनलसम्मको यात्रा तय गरेका थिए । तर, उपाधि जित्न भने सकेको छैन । २०१८ को फाइनलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो ।
२०२३ को संस्करण भने सिंगल राउन्ड रोविन पद्धतिमा भएकाले बंगलादेश शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको थियो । यसअघिका चार संस्करणमध्ये तीन संस्करणको उपाधि बंगलादेशले जित्दा अर्को एक संस्करण भने भारतले जितेको थियो । नेपाली टिम ललितपुरकी सारा बज्राचार्यको कप्तानीमा बंगलादेश उडेको छ ।