१८ माघ,काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टितेलमा २ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
अबको नयाँ मूल्य पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ भएको छ । त्यस्तै, डिजेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ पुगेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । त्यस्तै, एलपीजी ग्यास पनि १८९५ बाट बढेर १९१० रुपैयाँ पुगेको छ ।