१९ माघ, काठमाण्डौ ।
बाँसबारी छालाजुता कारखानाको जग्गा घोटाला प्रकरणमा प्रतिष्ठित उद्योगी घराना चौधरी परिवारका सदस्य अर्बपछि उद्योगी तथा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदका सहोदर भाइ नै पक्राउ परेपछि गठबन्धन सरकार हल्लिएको छ ।
चौधरी प्रक्राउ पर्न साथ केही उद्योगीहरुले पत्रकार सम्मेलन गरेर धरपकड गरिएको भन्दै आपत्ति जनाएका छन् भने सरकारमै रहेका अर्थमन्त्री डा प्रकाश शरण महतले समेत असन्तुष्टि जनाएका छन् । सरकारमा रहेका र उद्योगीहरुबाटै विना अनुशन्धान धरपकड गरिएको भन्दै विरोध भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरुले व्यवसायी अरुण चौधरीलाई पक्राउ पर्नुको कारण आज पत्रकार सम्मेलनको आयोजना गरी प्रष्ट पारेका छन् ।
सीआईबीले चौधरीलाई पक्राउ गर्नुअघिको ३ महिना अनुसन्धान गरेको बताएको छ । लामो अनुसन्धानपछि बिहीबार चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिनाबारे अनुसन्धान गर्न सीआईबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको थियो ।
समितिले ३ महिनाको अनुसन्धानपछि अवैध तरिकाले सरकारी जग्गा हिनामिना गरेको रिपोर्ट बुझाएसँगै चौधरी पक्राउ परेका हुन् । उनीमाथि अनुशन्धान गर्न अदालतले ४ दिनको समय दिएको छ तर उनी प्रहरी हिरासतमा नभई ग्रान्डी अस्पतालमा भर्ना भएका छन् । उता चौधरी पक्राउ परेपछि आएको दबाब बारे उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पोखरा पुगेर सार्वजनिक गरेका छन् ।
पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै नेता, कर्मचारी उद्योगी जो भएपछि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने प्रतिवद्धता उनले जनाएका छन् । श्रेष्ठले भनेकाछन् , ‘लुटमा संलग्न भएको कोही राजनीतिक पृष्ठभूमि भएको मान्छे समात्यो भने नेताहरू कराउन थाल्छन्– हाम्रो पार्टी र गठबन्धन हो, प्रतिपक्षको हो भनेर त्यसरी अब चल्दैन ।
कर्मचारीले गल्ती गर्दा कारबाही ग¥यो भने कर्मचारी संगठन बोल्न थाल्छन् ।’ निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन नसकिँने बताउँदै गल्ती गर्ने उद्योगीलाई पक्राउ गर्दा व्यक्तव्यबाजी गर्नुको अर्थ नभएको उनले बताएका छन् ।
चौधरी पक्राउ प्रकरणतर्फ लक्षित गर्दै गृहमन्त्रीले भने, ‘उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरू हुन्छ, दबाब सुरू हुन्छ । उद्योग व्यवसायीलाई यसो गर्न भएन नि ! हामीले कर तिरेका छौं, अर्थतन्त्र धानेका छौं भन्छन् । हामीले भनेकै छौं त निजी क्षेत्रको सहयोगविना नेपालको अर्थतन्त्रलाई सकरात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।’
बिहीबार गृहमन्त्री श्रेष्ठको निर्देशनमा काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।