२२ माघ ,एजेन्सी ।
स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको आज जन्मदिन । आजबाट उनी ३९ वर्ष लागेका छन् । रोनाल्डोको जन्म सन् १९८५ फेब्रुअरी ५ मा पोर्चुगलको फुन्चालमा भएको थियो । विश्वकप उपाधिबाहेक विश्व फुटबलमा पाउनुपर्ने सबै उपाधि उनले प्राप्त गरिसकेका छन् ।
उनलाई यो समयको एक महान फुटबलर मानिन्छ । फोर्ब्सका अनुसार रोनाल्डो विश्वकै सबैभन्दा बढी धन आर्जन गर्ने फुटबलर हुन् । ३९ वर्षका रोनाल्डो अहिले साउदी अरबको क्लब अल–नासरबाट फुटबल खेल्छन् । गोल मेसिनका नामले परिचित रोनाल्डो पोर्चुगलका मात्र नभएर अन्तर्राष्ट्रिय खेलमा पनि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट १२८ गोल गरेका छन् । रोनाल्डो युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनले च्याम्पियन्स लिगमा १४० गोल गरेका छन् । रोनाल्डो विश्वकप फुटबलमा लगातार पाँच संस्करण गोल गर्ने पहिलो खेलाडी हुन् ।
यस्तै, सक्रिय खेल जीवनमा आठ सय गोल गर्ने पनि रोनाल्डो पहिलो खेलाडी हुन् । उनले सन् २००३ देखि अहिलेसम्म ८७३ गोल गरिसके, यो सूचीको दोस्रोमा मेस्सी छन् । मेस्सीले ८२१ गोल गरेका छन् । रोनाल्डो ११ अन्तर्राष्ट्रिय खेलमा लगातार गोल गर्ने एक्ला खेलाडी पनि हुन् ।
उनी अन्तर्राष्ट्रिय खेलमा १० पटक ह्याट्रिक पूरा गर्ने पहिलो फुटबलर हुन् । यसैबीच, आजै ब्राजिलियन स्टार खेलाडी नेइमार जुनियरले पनि जन्मदिन मनाइरहेका छन् । सन् १९९२ मा जन्मिएका नेमार ३२ वर्षका भएका छन् ।