२५ माघ,एजेन्सी ।
बेलायतमा ७५ वर्षीय राजा चार्ल्स तृतीय क्यान्सरका कारण बिरामी परेपछि राजकुमार विलियमले शाही जिम्मेवारी सम्हालेका छन् । उनी चालर््सका जेठा छोरा हुन्, जो भावी राजासमेत हुन् । बेलायतमा जेठो सन्तान राजा वा रानी बन्ने व्यवस्था छ । चार्ल्सअघि उनकी आमा एलिजाबेथ रानी थिइन् ।
बुबा बिरामी परेपछि राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारी सम्हालेका हुन् । राजा चार्ल्सले आफ्नो उपचार चलिरहेकाले छोरा विलियमलाई थप शाही जिम्मेवारी सुम्पिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । राजा चार्ल्सको क्यान्सरको उपचार चलिरहेको छ ।
उनकी श्रीमती पनि शल्यक्रियापछि आराम गरिरहेकी छन् । यो अवस्थामा राजा चार्ल्सले राजकुमार विलियमलाई शाही जिम्मेवारी दिएका हुन् । ४१ वर्षीय राजकुमार विलियमले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिन र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए ।
राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधबारदेखि काममा फर्किएका हुन् । उनले आफ्नो बुबाको उपचारका क्रममा चार्ल्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ ।
उपचारका क्रममा राजा चार्ल्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चार्ल्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्नेछन् । राजा चार्ल्सलाई कुन प्रकारको क्यान्सर भएको हो भन्ने चाँही खुलेको छैन । सन् २०२२ सेप्टेम्बर ८ मा राजा चार्ल्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएपछि उनले नेतृत्व सम्हालेका थिए ।
शासनसत्ता सम्हालेको १७ महिनापछि उनलाई स्वास्थ्य समस्या रहेको पत्ता लागेको थियो । राजा चार्ल्स का कान्छा छोरा ह्यारी भने शाही पदवी त्याग गरी आफ्ना परिवारसहित अमेरिकामा बसोबास गर्दै आएका छन् ।