२५ माघ,विराटनगर ।
विराटनगर हार्डवेयर संघका व्यवसायी, त्याहा कार्यरत कर्मचारी र तिनका आश्रित परिवारका सदस्यहरुको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारमा विशेष छुट हुने भएको छ ।
विराटनगर हार्डवेयर संघ र विराट नर्सिङ होम प्रा.लि.बीच बिहीबार स्वास्थ्य उपचार छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै हार्डवेयर संघका व्यवसायी, त्याहा कार्यरत कर्मचारी र तिनका आश्रित परिवारका सदस्यहरुले विराटमा स्वास्थ्य उपचार गर्दा छुट पाउने सुनिश्चित भएको हो ।
सम्झौता अनुशार विराटमा स्वास्थ्य परीक्षण गर्दा विभिन्न शुल्कहरुमा विशेष छुट पाउने व्यवस्था गरिएको छ । यो सम्झौतापछि हार्डवेयर संघमा दर्ता भएका संघका व्यवसायी सदस्य, कार्यरत कर्मचारी र आश्रित परिवारले स्वास्थ्य उपचारमा छुट पाउने छन् ।
सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल र विराट नर्सिङ होम प्रा.लि.बाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले हस्ताक्षर गरेका छन् ।
दुई संस्थाबीच निकट भविष्यमै स्वास्थ्य शिविर संचालन गर्ने समेत समझदारी भएको छ । विराटनगर हार्डवेयर संघमा अग्रवाल केही साता अघि मात्रै निर्वाचित भएका हुन् ।
उनले संघलाई सक्रिय बनाउदै व्यवसायी सदस्यहरुको हकहितमा प्रभावकारी काम गर्ने बताउँदै आएका छन् । दुई सय ५० व्यवसायी सदस्य रहेको विराटनगर हार्डवेयर संघ २०५५ देखि सक्रिय रहदै आएको छ ।