२५ माघ, विराटनगर ।
विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी इन्टर हाउस फुटबल टुर्नामेन्ट आज सम्पन्न भएको छ । प्रतियोगितामा चार समूहबाट चार–चार हाउसले सहभागिता जनाएका थिए । ती मध्ये विजयी दुई दुई टीमले उपाधिका लागि आज प्रतिष्पर्धा गरेका हुन् । जस अन्तर्गत कक्षा कक्षा ३,४ र ५को समूहबाट कोशी र गण्डकी फाइनल खेलेका हुन् ।
जसमा कोशीले गण्डकीलाई शुन्यका विरुद्ध ३ गोल गर्दै उपाधि जितेको छ । कोशीका लागि मौसमकुमार मेहताले २ गोल र हिमाल सागर आचार्यले १ गोल गरे । मेहता प्लेयर अफ द टुर्नामेन्ट र आचार्य म्यान अफ द म्याच घोषित भए । कक्षा ६ र ७ को समूहबाट फाइनल खेलेका मेची र गण्डकी हाउसमा टाईब्रेकरमा गण्डकी विजयी भयो ।
निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउट गराइएको थियो । त्यसमा पनि तीन– तीन गोलको बराबरी भएपछि टाइब्रेकरमा गण्डकी विजयी भएको हो । टाईब्रेकरमा गण्डकी विजयी म्यान अफ द म्याच सामर्थ्य पाठक र प्लेयर अफ द टुर्नामेन्ट उत्कर्ष ढकाल भए । कक्षा ८ र ९ को फाइनलमा कोशी र कर्णालीले फाईनल खेले ।
जसमा कोशीले ५– ० को फराकिलो जित निकाल्यो । म्यान आफ द म्याच रुपक दाहाल हुँदा प्लेयर अफ द टुर्नामेन्ट रायन पोखरेल घोषित भए । छात्रा तर्फ लोटस हाउस विजयी बन्यो । निर्धारित समयमा दुबै टीमले गोलरहित बराबरी खेले । पेनाल्टीमा ३–० अन्तरले लोटस विजयी भएको हो ।
उक्त समूहबाट म्यान अफ द म्याच सेबिका कटुवाल र प्लेयर अफ द टुर्नामेन्ट मानस्वी कोइराला भइन् । प्रतियोगिताका विजेता र उपबिजेतालाई विद्यालयका अध्यक्ष विनोद ढकाल, प्रीन्सिपल टिकाराम पुरी, भाइस प्रीन्सिपल टीएन भण्डारी र नारायण कडरिया लगायतले ट्रफी र मेडल वितरण गरेका थिए ।