३ फागुन , काठमाण्डौ ।
विश्वकप छनोट पुग्ने पहिलो खुट्किलो रहेको आईसीसी विश्वकप लिग–२को त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नै नेपालले पराजय भोगेको छ । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले खराब प्रर्दशन गर्दै प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालले बलियो लक्ष्य दिन नसक्नु नै हारको मुख्य कारण बन्यो । नेपालका आशा गरिएका खेलाडीहरु नै लगातार पेभेलियन फर्किएपछि नेपालको ब्याटिङ नामिबियाविरुद्ध कमजोर सावित भएको थियो । नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बलमा चार चौका हिर्काए ।
त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले । उनले ५ चौका हिर्काए । ओपनर माइकल भान लिनगेनले २३ तथा अर्का ओपनर निकोलास डाविनले १५ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए । रोहित पौडेलले पनि एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।
करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गरेको हो ।
नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । नेपालले दोस्रो खेल आगामी फेब्रुअरी १७ मा नेदरल्याण्ड्सविरुद्ध खेल्ने तालिका छ । गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकामा यसपटकको लिग–२ मा भने आठ टोली भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ ।
आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए । बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ ।
चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।लिग–२ खेल्ने टिमहरुमाः नेदरल्याण्ड्स, नेपाल ,नामिबिया ,स्कटल्याण्ड ,संयुक्त अरब इमिरेट्स ,ओमान ,क्यानडा र संयुक्त राज्य अमेरिका रहेका छन् ।