Nepal Times
Nepal Times
3
Shares

आजदेखि शुक्रबारसम्म मौसम बदली,पानी पर्ने, चिसो फेरि फर्किने

आजदेखि शुक्रबारसम्म मौसम बदली,पानी पर्ने, चिसो फेरि फर्किने

७ फागुन , काठमाण्डौ । 

आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।महाशाखाले विशेष बुलेटिन जारी गरेर सोमबारदेखि शुक्रबारसम्म मौसम बदली भई वर्षा र हिमपात हुने जानकारी दिएको हो।

पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्व सर्दै जाने क्रममा यसको प्रभावले सोमबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 बिहीबार देखि शुक्रबार सम्म बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यसैगरी सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।मंगलबार देखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ।

महाशाखाका अनुसार बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

उक्त प्रणालीको असले असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ।’धेरै घट्ने होइन तर तुलनात्मक रूपमा अधिकतम र न्यूनतम तापक्रम घट्छ । त्यसले चिसो केही मात्रामा बढाउन सक्नेछ,’ मौसमविद सरोज पुडासैनीले भने।

त्यसको प्रभावले काठमाडौं उपत्यकामा पनि मौसम बदली रहने र तापक्रम केही घट्ने उनले बताए। तसर्थ, वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।शनिबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.