८ फागुन , एजेन्सी ।
अफगानिस्तानमा आएको पहिरोमा परेर २५ जनाले ज्यान गुमाएका छन् । अन्तराष्ट्रिय संचारमाध्यामका अनुसार अफगानिस्तानको पूर्वी भागमा रहेको नुरिस्तान प्रान्तमा गएराति गएको पहिरोमा परेर ८ जना घाइते भएका छन् र कैयौ पुरिएका छन् । अफगानिस्तानको विपत्त मन्त्रालयको सोमबार सार्वजनिक भएको तथ्यांकअनुसार मुसलधारे पानी परेर पहिरो गएको थियो ।
डीडब्लूले हिन्दू कुश हिमालय श्रृङ्खलाको दक्षिण छेउमा पर्ने नरिस्तान प्रान्तको पहिरोमा परेकाहरुको उद्धार गर्न सहायता निकायको अभावले समस्यामा परेको बताएको छ । सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी बहिर्गमन तथा तालिवानको पुनरागमनसँगै विदेशी सहायताहरु घटेपछि अफगानिस्तान जस्तो प्रकोप पीडित देशलाई धेरै समस्या थपिएको बताइएको छ ।
स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएअनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि पहिरो गएको थियो । पहिरोमा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन् । उनीहरूका अनुसार उद्धार कार्य जारी छ ।
पहिरोका कारण कम्तीमा २० वटा घरहरू क्षतिग्रस्त भएका छन् । घटनाको पुष्टि गर्दै राष्ट्रिय विपद् अधिकारीका प्रवक्ता मुल्लाह जानान स्याकले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या परिवर्तन हुनसक्ने बताएका छन् । राजधानी सहर काबुलसहित अफगानिस्तानका केही भागहरूमा आइतबार दिउँसोदेखि वर्षा र हिमपात भइरहेको छ ।