८ फागुन , एजेन्सी ।
विश्व चर्चित फ्रान्सका प्रभावशाली स्ट्राइकर किलियान एमबाप्पे लामो समयको अन्यौललाई चिर्दै स्पेनिस ‘पावर हाउस’ रियल मड्रिडमा आबद्ध हुने भएका छन् । २५ वर्षीय एमबाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर रियल मड्रिड जाने पक्का भएको हो । एमबाप्पेले रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेको दी मिररले जनाएको छ ।
उनी कति रकममा रियल मड्रिडमा आबद्ध भएका हुन् भन्ने विषयमा भने समाचारमा केही खुलाइएको छैन । रियल मड्रिड, पीएसजी र एमबाप्पेले भने हालसम्म यस विषयमा केही बताएका छैनन् । एमबाप्पेले यसअघि नै पीएसजीलाई आफूले क्लब छाडन चाहेको बताइसकेका थिए । सानैदेखि एम्बाप्पेले रियलका लागि खेल्ने इच्छा व्यक्त गर्दै आएका छन् ।
उनको बहिर्गमनसँगै पीएसजीको ‘सुपर–टिम’ युग समाप्त हुनेछ । जसमा लियोनल मेसी, एम्बाप्पे, नेयमार जुनियर जस्ता स्टारहरुको दबदबा थियो । पीएसजी विश्वको सातौँ मूल्यवान फुटबल टोली हो । पीएसजीले मेसी, नेयमार र एम्बाप्पेलाई किन्न र तलब दिन मात्र १.३ अर्ब डलर खर्चेको थियो । मेसी इन्टर मायामी गएका छन् ।
भने नेयमार साउदी क्लब अल हिलालमा आवद्ध भएका छन् । एम्बाप्पेले यसअघि पनि क्लब छाड्ने प्रयास गरेका थिए । तर फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले नै उनलाई पीएसजीमा बस्न फकाएका थिए । साउदीको अल हिलालले तलब र ट्रान्सफर मूल्यसहित उनका लागि १.१ अर्ब डलर खर्चिन खोजेको थियो ।
रियल मड्रिडका अतिरिक्त इङ्लिस क्लब लिभरपुल र आर्सनलले पनि एमबाप्पेलाई भित्राउन चाहेका थिए । रियल विश्वकै सबैभन्दा मूल्यावन् क्लब हो । जसको मूल्य ६.०७ अर्ब डलर अनुमान गरिएको छ । एमबाप्पे सन् २०१८ मा पीएसजीमा आबद्ध भएका थिए ।
उनले पीएसजीलाई पाँचपटक फ्रेन्च लिगको उपाधि जिताएका छन् । एमबाप्पेले पीएसजीका लागि दुई सय ९० खेल खेल्दै कुल दुई सय ४३ गोल गरेका छन् । पीएसजीसँग एमबाप्पेको सम्झौता जुन ३० तारिखमा सकिँदैछ । स्पेनिस पत्रिका मार्काले पनि एमबाप्पेले रियल मड्रिडसँग सन् २०२९ सम्मका लागि सम्झौता गरेको उल्लेख गरेको छ । एमबाप्पे र रियल मड्रिडबीच १२ देखि १७ मिलियन पाउन्डमा सम्झौता भएको दाबी गरिएको छ ।