१० फागुन, विराटनगर । औद्योगिक नगरी विराटनगरका युवा उद्यमी र युवा व्यवसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरले करदाता शिक्षा प्रदान गरेको छ ।
युवा उद्यमी र युवा व्यवसायीलाई आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीले विद्यमान कर प्रणालीको बारेमा जानकारी गराएका हुन् ।
उनले पहिलो कर अधिकृत व्यवसायी भएको बताए । व्यवसायीले दक्ष अडिटर मार्फत गरेको कारोबारको सही विवरण पेश गरेर राज्यलाई तिर्नुपर्ने वास्तविक कर तिर्न सुझाव दिएका छन् । तर व्यवसायीले जानीजानी गलत कारोबारको विवरण पेश गरेको खण्डमा राज्यले दण्डित गर्ने डा. क्षेत्रीले जानकारी गराए ।
सो अवसरमा प्रमुख कर अधिकृत डा. क्षेत्रीले अब उद्योगी तथा व्यवसायिक फर्मको दर्ता गराउन, फोटो खिचाउन र प्रमाण–पत्र लिन बाहेक आन्तरिक राजश्व कार्यालय आउनु नपर्ने व्यवस्था लागू हुन लागेको समेत जानकारी दिए ।
केही समय भित्र नै सरकारले उद्योगी व्यवसायीहरुका लागि अनलाइनबाटै कारोबारको अडिट गर्ने व्यवस्था लागू हुने उनले जानकारी दिएका छन् ।
प्रमुख कर अधिकृत डा. क्षेत्रीले मूल्य अभिवृद्धि कर तर्फ व्यवसायीले कर बिजक जारी नगर्ने, इस्टिमेट बिल जारी गर्ने र नक्कली बिलको प्रयोग गर्नेको संख्या बढि रहेको भन्दै त्यस तर्फ सचेत भएर कारोबार गर्ने व्यवसायीलाई सुझाव दिएका छन् ।
आन्तरिक राजश्व कार्यालय विराटनगर र नेपाली उद्यमी मञ्च विराटनगरले आयोजना गरेको विद्यमान कर प्रणाली र व्यवसायिक क्षेत्रको भूमिका विषयक करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रममा ५० भन्दा बढि युवा उद्यमी र युवा व्यवसायीको सहभागिता रहेको थियो ।