१० फागून , विराटनगर ।
भारतमा पञ्जाबका किसानहरुले सुरु गरेको दिल्ली कुच आन्दोलन झनै उग्र बन्दै गएको छ । बुधबार आन्दोलनका क्रममा हरियाणाको खानुरी सीमामा प्रहरी र किसानहरुबीच भएको झडपमा एक किसान युवाको मृत्यु भएपछि आन्दोलनरत पक्ष झनै आक्रोषित बनेको छ ।
यद्यपी यसैका कारण किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)को योजना दुई दिनका लागि स्थगित गरेका छन् । बुधबार भएको झडपमा टाउकोमा गहिरो चोट लागेर बल्लो गाउँका शुभकरण सिंहको मृत्यु भएको छ, भने खानुरी र शम्भु नाकाका दर्जनौं किसान घाइते भएका छन् ।
शुभ करण सिंहलाई लगिएको पटियालास्थित अस्पतालका डाक्टरले उनलाई गोली लागेको बताएका छन् । अब पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्नेछ । किसान संगठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप लगाए पनि हरियाणा प्रहरीले भने यसलाई अस्वीकार गर्दै आएको छ ।
तर अस्पतालका वरिष्ठ चिकित्सा अधिकृत डा. रेखाले खनौरीबाट तीन जना बिरामी आएका, जसमध्ये एकको मृत्यु भइसकेको छ, अन्य दुईको अवस्था स्थिर रहेको र उनीहरूलाई गोली लागेको देखिएको बताएकी छिन् ।
यता हरियाणा प्रहरीले बुधबार नै एक्समा लेखेको छ, ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार आज कुनै किसानको मृत्यु भएको छैन, यो अफवाह मात्र हो । तथ्यांकमा दुई प्रहरी र एक प्रदर्शनकारी घाइते भएको जानकारी छ, जसको उपचार भइरहेको छ ।’ तर ट्रेड युनियनहरूले प्रदर्शनकारी युवा किसानको क्रूर हत्या र दर्जनौं घाइतेको कडा निन्दा गरेका छन् र फेब्रुअरी २३ लाई भारतभर कालो दिवसको रूपमा मनाउने घोषणा गरेका छन् ।
सो क्रममा ट्रेड युनियनहरूले कालो पट्टी लगाउनुपर्ने, खाजाको समयमा विरोध गर्ने, धर्ना गर्ने, जुलुस निकाल्ने, टर्च र मोमबत्ती प्रज्वलन गर्ने र देशका मजदुर किसानहरूप्रति केन्द्र सरकारको निर्दयी व्यवहारप्रति आफ्नो पीडा व्यक्त गर्ने बताएका छन् । एक वर्ष लामो आन्दोलन थामिएको दुई वर्षपछि किसानहरू आफ्ना माग पूरा नभएको भन्दै पुनः सडकमा उत्रिएका हुन ।
कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने मुख्य माग अघि सारेर उनीहरू दिल्लीतर्फ हिँडेका हुन । पन्जाबका हजारौं किसान दिल्लीमा धर्ना र प्रदर्शनको तयारीका साथ हिँडेपछि उनीहरूलाई बल प्रयोग गरेर बाटोमै रोकिएको हो । दिल्लीभन्दा १५० किलोमिटर टाढा हरियाणा–पन्जाब सिमाना क्षेत्र शम्भु बोर्डरमा किसानको दिल्ली यात्रालाई रोकिएको हो ।
जहाँ प्रदर्शन गरिरहेका किसानहरूमाथि लाठिचार्ज, प्लाष्टिकका गोली र अश्रुग्यास प्रहार भइरहेको छ । ड्रोनबाट अश्रुग्यास हनिएको छ । किसानहरुले चंगा उडाएर ति ड्रोनहरु झार्ने प्रयास समेत गर्दै आएका छन् । यी किसानहरूले सरकारले म्याक र तीनवटा कृषि कानुन फिर्ता लिँदा किसानलाई गरेका वाचा पूरा गर्न सरकारसँग माग गरेका थिए ।
यस्तै आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्यको माग गर्दै आएका किसानहरु आन्दोलनका लागि दिल्लीतर्फ गइरहेका छन् । तर, उनीहरुको राजधानी दिल्लीको यात्रा रोक्न प्रहरीले बाटोमा धेरै तहमा काँडेतार सहित अवरोध खडा गरेको छ । पञ्जाब र हरियाणाको सीमामा हजारौँ किसानहरुले डोजरको प्रयोग गरी अवरोध हटाउने प्रयास गरेका छन् ।
भिड हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सीमामा रहेको ब्यारिकेड तोड्ने प्रयास असफल भएपछि हरियाणा प्रहरीले किसानमाथि अश्रुग्यास प्रहार गरेको किसानहरुले बताएका छन् । तर जिन्द एसपी सुमित कुमारका अनुसार किसान आन्दोलनका क्रममा केही मानिसहरूले धानको परालमा आगो लगाए र खुर्सानी थपे, त्यसपछि उनीहरूले प्रहरीमाथि हमला गरे ।
अत्याधिक धुवाँका कारण धेरै किसानहरूले तरवार, भाला र बन्दुकको सहारा लिए । उनीहरूले प्रहरीमाथि आक्रमण गरे, जसमा १२ प्रहरी गम्भीर घाइते भएको उनले बताएका छन् । किसान मजदूर संघर्ष समिति र भारतीय किसान यूनियन (सिद्धूपुर)को नेतृत्वमा पंजाबका किसान संगठनहरुको एक गुटले केन्द्र सरकारविरुद्ध ’दिल्ली कुच’ को आह्वान गरेका हुन् ।
उक्त मोर्चामा किसानसँग सम्बद्ध २५० संगठन आबद्ध रहेको जनाइएको छ । किसानको मागहरुमा कृषि उपजका लागि न्यूनतम समर्थन मूल्यको कानूनी सुनिश्चितता, स्वामीनाथन आयोगको रिपोर्ट लागू गरिनु पर्ने र भाजपा नेताद्वारा कथितरुपमा मारिएका चार सिख किसानलाई न्याय दिनुपर्ने लगायतका अन्य केही माग रहेका छन् । यसबीच आन्दोलनरत पक्षको केन्द्र सरकारसंग चार चरणमा वार्तासमेत भइसकेको छ । तर किसानहरु अझै पनि आफ्नो माग पूरा हुनेमा आश्वास्त हुन नसक्दा आन्दोलन रोकिएको छैन ।
’दिल्ली कुच’ आह्वानपछि १३ फेब्रुअरीमा ठूलो संख्यामा किसानहरु शम्भु र खानुरी सीमामा पुगेका थिए । तर त्यहाँबाट अगाडि बढ्न भने उनीहरुलाई हरियाणा प्रशानसन रोकिरहेको छ । हरियाणा सरकारले सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ ।
साथै विभिन्न प्रकारको प्रतिबन्धहरु पनि लगाएको छ, जसमा सडक यातायात पनि ठप्प भएको छ । हरियाणा प्रहरीले सुरक्षालाई ध्यानमा राख्दै पञ्जाब प्रहरीलाई पत्रकार, महिला तथा केटाकेटीलाई सीमाभन्दा एक किलोमिटर टाढै रोक्न भनेको छ । दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
एक महिनाका लागि ठूलो समूहमा भेला हुन रोक लगाइएको छ । आन्दोलनकारीहरुले सरकारले यसअघि सन् २०२०÷२१ मा भएको आन्दोलनमा भएका सहमति पालना नगरेको आरोप लगाएका छन् । त्यस्तै उनीहरुले पेन्सन तथा ऋण माफीको पनि माग राखेका छन् ।
सरकारले दाल, मकै र कपास पाँच वर्षका लागि न्यूनतम समर्थन मूल्यमा किन्न प्रस्ताव गरे पनि किसानहरुले सबै २३ वटै बालीहरु न्यूनतम समर्थन मूल्यमा किन्नुपर्ने माग राखेका छन् । आफ्नो माग पूरा नभए किसानहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको निवास घेराउसम्मको कार्यक्रम ल्याएका छन ।
यसैबीच सामाजिक सञ्जाल एक्सले भारत सरकारले किसानको प्रदर्शनसम्बन्धी पोस्ट सेयर गर्ने अकाउन्ट ‘ब्लक’ गर्न आदेश दिएको खुलासा गरेको छ । भारत सरकारको उक्त आदेशप्रति आफ्नो असहमति रहेको एक्सले उल्लेख गरेको छ ।
भारतले उक्त आदेश दिएपछि एक्सको विदेश मामिला हेर्ने अकाउन्टले विज्ञप्ति जारी गर्दै असहमति जनाएको हो । एक्सले भनेको छ, “भारत सरकारले आदेश जारी गरेको छ, जसमा एक्सका केही अकाउन्ट तथा पोस्टमाथि कारबाही गर्न भनिएको छ ।
ती अकाउन्ट र पोस्ट ब्लक गर्न भनिएको छ, किनकि ती भारतको कानुनानुसार दण्डनीय छन् ।” एक्सले थप भनेको छ, “आदेशको पालना गर्दै ती अकाउन्ट र पोस्टलाई हामी केवल भारतमा मात्र ब्लक गर्नेछौँ । तर, यसमा हाम्रो असहमति छ र हाम्रो मान्यता अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ भन्नेमा छ ।”
आफ्नो नीतिअनुसार केवल भारतमा ब्लक गरिने अकाउन्टका प्रयोगकर्तालाई यससम्बन्धी जानकारी दिइसकिएको एक्सले जनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, भारतको गृह मन्त्रालयको अनुरोधमा आईटी मन्त्रालयले १७७ अकाउन्ट अस्थायी रूपमा ब्लक गर्न आदेश दिएको छ ।
ती अकाउन्टबाट किसानले भारतमा अहिले गरिरहेको विरोध प्रदर्शनसम्बन्धी पोस्ट सेयर गरिएको थियो । आन्दोलित किसानको प्रभाव क्षेत्रमा इन्टरनेट पनि बन्द गरिएको छ । सरकार समस्या समाधानका लागि कृषकका माग सम्बोधनको साटो दमनको नीतिमा अघि बढेको भन्दै सर्वसाधारणमा समेत असन्तुष्टि बढ्दै गएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
यसबारे तपाईँ टिप्पणीहरु अवस्य अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।