१५ फागुन, काठमाण्डौ ।
वाफ महिला च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल लेबनानसँग खेल्दैछ । नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । लेवनानले भने समूह चरणमा २ जित र १ हारको नतिजा निकालेको थियो ।
च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै दोस्रो खेलमा सावित्रा भण्डारी ‘साम्बा’ को ५ गोलमा इराकलाई ५–० र समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । साम्बा ३ खेलमा ८ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता सूचीमा अघि छिन् । दोस्रो स्थानमा ३ गोलसहित ३ खेलाडी छन् ।
गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ । नेपालले तीन खेलमा १३ गोल गरिसकेको छ । जसमा आठ गोल स्ट्राइकर सावित्रा भण्डारीको नाममा छ । रेखा पौडेलले दुई गोल गर्दा अनिता बस्नेत र गीता रानाले समान १–१ गोल गरेका छन् ।
नेपाल र लेबनानबीच हुने सेमिफाइनलको खेल नेपाली समय अनुसार आज राति पौने ११ बजे साउदी अरेबियाको जेद्दाहमा रहेको किङ अब्दुल्लाह स्पोर्टस सिटीमा हुनेछ । आजै हुने अर्को सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । आजको खेलमा विजेता टोलीले उपाधिका लागि पर्सि बिहीवार खेल्नेछन् ।
फिफा वरीयतामा आफूभन्दा कमजोर टोलीसँग लगातार खेलेको नेपालका लागि सेमिफाइनल प्रतिद्वन्द्वीका रूपमा रहेको लेबनान पनि फिफा वरीयतामा नेपालभन्दा २९ स्थान पछि छ । त्यसैले नेपाल तुलनात्मक रूपमा बलियो छ । त्यसो त मैदानमा समेत नेपालको उच्च लय रहेकाले लेबनानलाई हराउँदै फाइनल पुग्ने बलियो टोली हो ।
फिफा वरीयतामा नेपाल १ सय ५ औं स्थानमा रहँदा लेबनान १ सय ३४ औं स्थानमा रहेको छ । जारी प्रतियोगितामा नेपालभन्दा माथिको वरीयतामा रहेको एकमात्र टिम जोर्डन हो । साथै जोर्डन यो प्रतियोगितामा सर्वाधिक पाँच पटकको च्याम्पियन हो । जोर्डन फिफा वरीयतामा ७४ औं स्थानमा रहेको छ ।