१५ फागुन, काठमाण्डौ ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजय बेहोरेको छ । यसअघिको खेलभन्दा केही सुधारिएको प्रर्दशन गरेपनि सुरुवातमै विकेट गुमाएको नेपालले २०७ रनको लक्ष्य पूरा गर्न सकेन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भयो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २,२ विकेट लिए । नेपाललाई अन्तिम २ ओभरमा २४ रन आवश्यक थियो भने दीपेन्द्रसिंह ऐरी र करण केसी क्रिजमा थिए।
तर १९ औँ ओभरको चौथो बलमा दीपेन्द्र आउट भए भने पाचौँ बलमा अविनाश बोहरा बोल्ड भए। विशाल लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो बलमै विकेट गुमाएको थियो। कुशल भुर्तेलले खाता नै खोल्न नसकेपछि नेपाल सुरुवातमा नै धर्मराएको थियो । यस्तै आशा गरिएका आसिफ शेखले ६ रन जोडे भने गुल्सन झा १२ र सन्दिप जोरा ५ र विवेक यादब ६ रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो ।
पछिल्लो क्रममा ब्याटरले नेपालललाई जितको लक्ष्य तर्फ लग्ने प्रयास गरेपनि त्यो संभव हुन् सकेन् । त्यसअघि नामिबियाका लफ्टी इटनले कीर्तिमानी शतकीय पारी खेले। उनले ३३ बलमा शतक पूरा गरे। उनी ३६ बलमा १०१ रन बनाउँदै अविनाश बोहराको बलमा आउट भए। नामिबियाका इटनले टी–२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन्। कुशलले चीनमा मंगोलिया विरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए। यस्तै नामिबियाका मलान क्रुगरले ४८ बल खेल्दै ५९ रन बनाए। उनले ६ चौका र २ छक्का प्रहार गरे। नामिबियाका मिचेल भान लिंगेनले २० रन बनाए भने जेपी क्रोज ११ रन बनाएर आउट भए।
नेपालका कप्तान रोहित पौडेलले नामिबियाको दुई विकेट लिए। यस्तै अविनाश बोहरा र करन केसीले १÷१ विकेट लिए। अब नेपालले यो सिरिजमा भोलि १६ गते नेदरल्याण्डस्सँग खेल्नेछ । १७ गते फेरि नेदरल्याण्डस्सँग नामिबिया भिड्नेछन् । १८ गते नेपालले नामिबियासँग दोस्रो खेल खेल्नेछ ।
भने १९ गते सिरिजको आफ्नो अन्तिम खेलमा नेदरलल्याण्डस्सँग खेल्नेछ । सिरिजको अन्तिम खेलमा फागुन २० गते नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल २२ गते हुने तालिका छ ।