Nepal Times
Nepal Times
3
Shares

नेपालको कमब्याकः नामिबिया ३ रनले पराजित

नेपालको कमब्याकः नामिबिया ३ रनले पराजित

फागुन १८ , काठमाण्डौ ।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा लगातार २ हार ब्यहोरेको नेपालले आज खेलिएको नामिबियाविरुद्धको खेलमा रोमाञ्चक जित हासिल गरेको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । लगातार २ हारपछि आज जित निकालेको नेपाल अहिले दोस्रो स्थानमा छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० सिरिजअन्तर्गत करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पार्न सफल भयो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन जोड्यो। अन्तिम ओभरमा नामिबियालाई १२ रन चाहिदा नेपालका करण केसीले ८ रन मात्र खर्चिए।

खेलमा दीपेन्द्रसिंह ऐरीले दुई बलमा दुई विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। दीपेन्द्रले १६औं ओभरको पहिलो र दोस्रो बलमा नामिबियाको चौथो र पाँचौ विकेट लिए। दीपेन्द्रले जेजे स्मिथलाई ५० रनमा अनिल साहबाट र जान निकोललाई सन्दीप जोराबाट क्याच गराए। अर्को ओभरको पहिलो बलमा अभिनास बोहराले जान फ्राइलिंकलाई ३७ रनमा बोल्ड गरेपछि नेपाल खेलमा फर्कियो।

त्यसअघि १५औं ओभरमा करण केसीले २३ रन खर्चिदा नेपालमाथि दबाब परेको थियो। तर दिपेन्द्र र अभिनासले उत्कृष्ट बलिङ गर्दै नेपालमाथिको दबाब कम गरेका थिए ।अन्तिम ओभरमा ४ विकेट बचेको नामिबियालाई १२ रन चाहिएको थियो। नेपालका लागि करण केसीले अन्तिम ओभर बलिङ गर्दा पहिलो बलमा एक रन दिए। दोस्रो बलमा पनि एक रन नै भयो। तेस्रो बल डट भयो। तर अर्को बल भने वाइड भयो।

चौथो बलमा एक रन दिए। पाँचौ बलमा करणले ट्रम्पलम्यानलाई सन्दीप जोराबाट क्याच गराए। जसका कारण अन्तिम बलमा नामिबियालाई ८ रन चाहिएको थियो भने नेपाल जित नजिक पुगेको थियो।जसमा करणले अन्तिम बलमा चौका दिए। बलिङमा नेपालका करण केसी, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दुई दुई विकेट लिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १८० जोडेको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५५ रन जोड्ने क्रममा ३७ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए । कुशल र आरिफ शेखबीच पाँचौ विकेटका लागि भएको ८५ रनको साझेदारी नेपालका लागि महत्वपूर्ण सावित भयो। आरिफले आउट हुनुअघि २४ बलमा ३१ रनको योगदान गरे। खराब सुरुवात गरेको नेपालले दोस्रो ओभरमै विकेट गुमायो।

अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए। बलिङमा नामिबियाका बेन शिकोन्गोले ३ विकेट लिए। उनले ४ ओभरमा २८ रन दिए। ज्याक ब्रासेलले २ विकेट हात पारे। यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो।

अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ। अब शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरे वा नामिबियामाथि नेदरल्यान्ड्सले आइतबार जित निकाले नेपाल फाइनलमा स्थान बनाउनेछ। फाइनल मंगलबार हुनेछ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.