Nepal Times
Nepal Times
3
Shares

६ पटक रुलिङ गर्दा पनि सरकार संसदमा किन पुगेन ?

६ पटक रुलिङ गर्दा पनि सरकार संसदमा किन पुगेन ?

फागुन १८ , काठमाण्डौ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जनाकारी गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् । विपक्षी दलहरुले बालकुमारीलगायत घटनाका बारेमा सरकारको जवाफ माग्दै आएका छन् । शुक्रबारको बैठकमा समेत एमाले सांसद सूर्यबहादुर थापाले सरकार संसद्प्रति उत्तरदायी नभएको भन्दै संसदमा प्रधानमन्त्रीको खोजी गरेका थिए ।

सभामुख देवराज घिमिरेले सरकारलाई एउटै विषयमा छैटौँ पटक जवाफ दिन रुलिङ गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले बालकुमारी लगायतका घटनाबारे उठाएका विषयमा सरकारले जवाफ नदिएको भन्दै सरकारलाई जवाफका लागि रुलिङ गर्न माग गरेपछि सभामुख घिमिरेले सरकारलाई शुक्रबार छैठौंपटक रुलिङ गरेका हुन् ।

त्यसक्रममा सभामुख घिमिरेले २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिए । ‘यसअघिका बैठकहरूमा सरकारलाई बैठकमा उपस्थित भई जवाफ दिन स्पष्ट निर्देशन गरिसकिएको ब्यहोरा जानकारी गराउँछु । म यसलाई फेरि भन्छु । आजको बैठकमा पनि सदस्यहरूले सरकारको जवाफ माग गर्नुभएको छ । आज र यसअघि उठेका विषयहरूमा सभाको मिति २०८० फागुन २१ गते बस्ने बैठकमा उपस्थित भई जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु’, सभामुख घिमिरेको रुलिङ छ ।

सभामुखको यस्तो रुलिङपछि मात्र विपक्षी सांसदहरू आसनमा बसेका थिए । विपक्षी दलहरूले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् । १४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए ।

तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएपछि एमाले सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्रीको खोजी गर्दै जवाफ आउनुपर्ने बताए । यसअघि सभामुखले फागुन ६गतेपछिका सबै बैठकमा सभामुखले सांसदहरूले उठाएका विषयमा सरकारलाई जवाफ दिन रुलिङ गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.