Nepal Times
Nepal Times
3
Shares

कडा सुरक्षाकाबीच नभाल्नीको अन्तिम संस्कार

कडा सुरक्षाकाबीच नभाल्नीको अन्तिम संस्कार

१९ फागुन , एजेन्सी ।
दुई हप्ताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको राजधानी मस्को बाहिर अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच उनलाई श्रद्धाञ्जली व्यक्त गर्न हजारौँ मानिस सडकमा निस्केका थिए । सो क्रममा कतिपयले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आलोचनात्मक नाराबाजी गरेका थिए ।

मानिसहरू युद्ध चाहिँदैन, पुटिन बिनाको रुस र रुस स्वतन्त्र हुनेछ जस्ता नाराहरू लगाएका थिए । यस्ता नाराहरूसहितका प्लेकार्ड बोकेकै भरमा मानिसहरू विगतमा गिरफ्तार हुने गर्थे । तर नाभाल्नीको अन्तिम संस्कारका बेला त्यस्तो देखिएन । यसअघि कतिपय मानिसले सपूत जन्माएको भन्दै नभाल्नीको आमाप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

नाभाल्नीको शवलाई बोरिसअफ्स्कया चिहानस्थलमा गाडिएको थियो । नाभाल्नीको शव चिहानमा गाड्ने बेला चिहानस्थलभित्र उनकी आमा पुगेकी थिइन् । रुसी अधिकारीहरूले शुरुमा नाभाल्नीको शव आमालाई दिन अस्वीकार समेत गरेका थिए । नाभाल्नीका समर्थक र केही पश्चिमा नेताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नियोजितरुपमा हत्या गराएको आरोप लगाइरहेका छन् तर यी आरोपको मस्कोले खण्डन गर्दै आएको छ ।

नभाल्नीको शव गाड्नुअघि गिर्जाघरनजिकै भएको समारोहमा अमेरिकी राजदूतसहित केही विदेशी कूटनीतिज्ञहरू उपस्थित भए । नभाल्नीकी श्रीमती युलिया र दुई सन्तानहरू अहिले विदेशमा बस्छन् र उनीहरूले क्रेम्लिनबाट दमन हुन सक्ने सम्भावनालाई ध्यान दिएर अन्तिम संस्कार समारोहमा भाग लिएनन् ।

तर इन्स्टाग्राममा एउटा भावुक सन्देश लेख्दै २६ वर्षसम्म पूर्ण खुसी दिएकोमा युलियाले आफ्ना श्रीमान्लाई धन्यवाद दिइन् । “मलाई तिमीबिना कसरी बाँच्ने थाहा छैन, तर म कोसिस गर्नेछु ताकि त्यहाँ माथि बसेर तिमी खुसी र गौरवान्वित होऊ। एक दिन हाम्रो भेट हुनेछ।”

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.