२१ फागुन , एजेन्सी ।
रुसले क्रिमियामा आक्रमण गरेका ३८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखिएको छ । विस्फोटका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो । यसबाहेक ड्रोन आक्रमणबाट कुनै क्षति नभएको रुसको भनाइ छ । तर युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् ।
अस्ति शनिवार रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गर्दा १० जनाको ज्यान गएको थियो । युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो आक्रमण भएको खबरमा उल्लेख छ । पछिल्लो समय रुसी सेना युक्रेनी मोर्चाभन्दा बलियो रूपमा प्रस्तुत भई आक्रमण गरिरहँदा युक्रेनको किभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ ।
गएको महिना मात्र रुसी सेनाले युक्रेनको महत्त्वपूर्ण पूर्वी शहर अदिभका कब्जा गरेको थियो । हिजो रुसले दक्षिणी खेरसन क्षेत्रलाई निसाना बनाएको थियो । यता गाजापट्टीमा इजरायलले गरेको पछिल्लो हवाइ हमलामा कम्तीमा ३० प्यालेस्टिनीको मृत्यु भएको छ । हमलामा थुप्रै घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतले बताएको छ ।
सिन्ह्वाका अनुसार इजरायली लडाकु विमानहरूले गाजामा शनिबार रातभर ५० पटकभन्दा बढी आक्रमण गरेका थिए । गाजाका रफाह, खान युनिस, देर अल–बालाह र जबलिया शहरका घर र अन्य मानवीय संरचनालाई आक्रमणको निशाना बनाइएको थियो । दक्षिणी गाजाको रफाहको अल–सलामस्थित घरमा गरिएको आक्रमणमा बालबालिका र महिलासहित १६ जनाकोमृत्यु भएको हो ।
यसैगरी इजरायली विमानले गाजा शहरको उत्तरमा रहेको अल–सफ्तावी नजिकैको घरमा बम आक्रमण गरेको थियो । यहाँ चार प्यालेस्टिनीको मृत्यु भएको छ । कैयौँ घाइते भएका छन् । यसैगरी उत्तरी गाजा पट्टीको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा १० जना मारिएका छन् ।
यता इजरायली सेनाले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस शहरमा शनिबार आफ्ना तीन सैनिक मारिएको बताएको छ । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को सशस्त्र शाखा, अल–कसाम ब्रिगेड्सले पनि शनिबार खान युनिस शहरको उत्तरमा रहेको अल–सतार क्षेत्रमा इजरायली सैनिक मारिएको र घाइते भएको बताएका छन् ।
यसैबीच इजिप्टका अधिकारीहरूसँग युद्धविराम सम्झौतामा वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल कायरो पुगेको छ । प्राप्त विवरणअनुसार गत २४ घण्टामा गाजामा इजरायली हमलाबाट ९० जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने १७७ जना घाइते भएका छन् ।
योसँगै ज्यान गुमाउनेको संख्या सङ्ख्या ३० हजार ४१० पुगेको र ७१ हजार ७०० घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजिप्टले कतार र संयुक्त राज्य अमेरिकासँग मिलेर मुस्लिमको पवित्र महिना रमजानअघि युद्धविराम सम्झौता गर्ने प्रयास गरेको छ ।