Nepal Times
Nepal Times
585
Shares

जेलेन्स्की बसेको ठाउँ नजिकै रुसी क्षेप्यास्त्र विस्फोट

जेलेन्स्की बसेको ठाउँ नजिकै रुसी क्षेप्यास्त्र विस्फोट

२४ फागुन, एजेन्सी ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोताकिस बसेको ठाउँनजिकै रुसी क्षेप्यास्त्र विस्फोट भएको छ । काला सागरको तटमा अवस्थित ओडेसा सहरमा यी दुई नेताभन्दा ५ सय मिटर पर क्षेप्यास्त्र प्रहार भएको हो ।

कारकेडमा रहेका नेताहरुले विस्फोटको आवाज सुनेको र धुवाँको मुस्लो देखेको बताइएको छ । सो आक्रमणमा पाँच जनाको ज्यान गएको र कयौँ घाइते भएको युक्रेनी सेनाले जनाएको छ । जेलेन्स्की बारम्बार युद्धक्षेत्रको नजिक गइरहन्छन् ।

जेलेन्स्कीले सो आक्रमण नजिकैबाट देखेको बताए । मित्सोताकिसले पनि घटनाको वर्णन गरेका छन् । ‘हामी कारमा पसेको केही समयपछि नै ठूलो विस्फोटको आवाज सुन्यौँ । वास्तविक युद्ध चलिरहेको छ भनेर याद दिलाउने यो सबैभन्दा प्रष्ट घटना थियो,’ उनले पछि पत्रकारहरुसँग भने ।

रुसी रक्षा मन्त्रालयले सो समयमा आफ्नो सेनाले क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । पछिल्ला दिनहरुमा युक्रेनले आक्रमणको गति बढाएको छ । यसैबीच रुसको एक अदालतले सामाजिक सञ्जालमा युक्रेन आक्रमणको आलोचना गरेको आरोपमा एक पत्रकारलाई बुधबार सात वर्षको कारागार सजाय सुनाएको छ ।

५१ वर्षीय रोमन इभानोभमाथि रुसको सशस्त्र बलहरूका बारेमा ‘झुटो सूचना’ आरोपमा दोषी पाइयो र मस्कोको कडा सैन्य सेन्सरसिप कानुनअन्तर्गत दण्डित गरियो । मस्कोले युक्रेनमाथि आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको सार्वजनिक आलोचनालाई समाप्त पार्नका लागि सशस्त्र बलहरूलाई ‘अपमानित’ गर्ने वा ‘झुटो सूचना’ प्रकाशित गर्नेविरुद्ध कानुनहरूको प्रयोग गरेको छ ।

सजाय सुनाइएपछि इभानोभले अदालत कक्षबाट बाहिर निस्कँदै गर्दा चिच्याउँदै भने, “शान्ति र स्वतन्त्रता ।” उनका समर्थकहरूले कराउँदै र ताली बजाउँदै भने, “हामी तपाईंसँगै छौँ, तपाईं एक्लो हुनुहुन्न ।”

सन् २०२२ मा टेलिग्राम र भिकोन्टेक सामाजिक सञ्जाल साइटहरूमा प्रकाशित पोस्टहरूमा इभानोभले युक्रेनमा रुसको सैन्य आक्रमण र युक्रेनी सहर बुचामा उसको कार्यहरूको आलोचना गरेका थिए । उनलाई गत वर्ष पक्राउ गरिएको थियो । तर उनले आफू निर्दोष रहेको बताएका थिए ।

“रुसमा पत्रकारिता अब अवस्थित छैन”, पछिल्लो सुनुवाइमा अदालतलाई दिएको अन्तिम बयानमा उनले भने, “हामीले हाम्रा चारैतिर दुःख किन बीजारोपण गरिरहेका छौँ र हाम्रो मुलुक दुःखको पहिरोमा किन परिवर्तन भएको छ भनेर हामीले स्वयंलाई सोध्नुपर्छ ।”

इभानोभ एउटा स्थानीय सरकारी टिभी च्यानलमा काम गर्थे । तर सन् २०२१ मा मस्कोको उत्तरपूर्वी सहर कारोलियोभमा कथित भ्रष्टाचार, चुनावी जालसाजी र पर्यावरणीय समस्याहरूमाथि रिपोर्ट गरेपछि उनलाई बर्खास्त गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.