२७ फागुन,विराटनगर ।
मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरिरको अङ्गहरुमा समस्या आएको विरामीको विराटनगरसिथ्त नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल शल्यक्रिया भएको छ । मोरङ्ग सुन्दरहरैचा १० का एक जना विरामीको नोवेलको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले पेरिकार्डियोक्टोमी नामक सफल शल्यक्रिया गरेको हो ।
उनमा करिब चार पाँच महिना अगाडि देखि पेट फुल्लिने, सुन्निने समस्या देखा परेको र हिँडडुल गर्दा थकान हुने भए पछि विभिन्न स्थानमा उपचार गराउदा ग्यास्ट्रिकको औषधी सुरु भएको थियो । तर समस्या समाधान नभए पछि उनी नोवेल शिक्षण अस्पताल पुगेका थिए । सुरुमा इण्डोस्कोपी गरिएको थियो तर चिकित्सकले उनलाई एक पटक मुटुरोग विभागमा गई जाँच गर्न सुझाएका थिए ।
मुटुरोग विभागमा जाँचको क्रममा उनको मुटुमा पानी जमेको थाहा भयो । सि. टि. भि. एस. सर्जन डा. लोकेश यादवका अनुसार उनको मुटुलाई बाक्लो झिल्लीले ढाकेको कारण मुटुले राम्ररी काम गर्न नसकेको हुँदा शरीरमा समस्या देखा परेको थियो । यो समस्यालाई कन्स्ट्रीक्टिभ पेरिकार्डाइटिस (Constrictive Pericarditis) भनिन्छ । उपचारको क्रममा सुरुमा डायग्नोष्टिक पेरिकार्डियोटोमी गरियो ।
पछि ओपन हार्ट सर्जरी मार्फत उनको मुटु वरपर भएको बाक्लो झिल्ली हटाउने शल्यक्रिया गरिएको डा यादवले बताएका छन् । यो शल्यक्रियालाई पेरिकार्डियोक्टोमी भनिन्छ । हाल विरामीको अवस्था सामान्य रहेको र डिस्चार्ज भई सकेको छ । यो नेपालमा प्राय क्षयरोगको कारणले हुने गरेको पाइएको डा. लोकेश बताउछन् ।
विभिन्न संक्रमणले गर्दा पनि यस्तो समस्या उत्पन्न हुन सक्दछ । मुटु र नशा वरपरको झिल्लीले एक किसिमको सुरक्षाको कार्य गर्दछ । तर झिल्ली बाक्लो भएमा मुटु र नशाको तन्किने खुम्चिने कार्य अर्थात लचकपन कम हुन्छ । अनावश्यक दवाव बढ्न जान्छ । अनि विभिन्न समस्या उत्पन्न हुन्छ ।
नोवेलले ओपन हार्ट सर्जरी सेवा सुरु गरे यता पूर्वी नेपालका विरामीहरुले यसका लागि अन्यत्र जानु पर्ने अवस्थाको अन्त्य भएको छ । नोवेलमा अत्याधुनिक उपकरण सहितको सुविधा सम्पन्न भौतिक पूर्वाधार एवं दश जना विशेषज्ञ चिकित्सक सहित कार्डियोलोजी र ओपन हार्ट सर्जरी सेवा संचालन हुँदै आएको छ ।