Nepal Times
Nepal Times
3
Shares

नेपालीको सपना साकारःबन्यो क्रिकेट रंगशाला

नेपालीको सपना साकारःबन्यो क्रिकेट रंगशाला

२८ फागुन , काठमाण्डौ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको निजी क्षेत्रको पहिलो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ । सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गरेका छन् । गुल्मीका विनोद कुँवरको निजी लगानीमा बनेको रंगशालको उद्घाटन आज प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी शुभारम्भ गरे ।

गत ३० जेठमा रंगशाला निर्माणको शिलान्यास भएको थियो । आठ महिनापछि रंगशालाको मैदानको निर्माण कार्य सम्पन्न भएको हो । तिलोत्तमा नगरपालिका वडा १७ मा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो । मैदान उद्घाटन भएसँगै आजबाट लिजेन्ड्स कप पनि शुरु हुँदैछ ।

नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिष्पर्धा हुनेछ । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले आफूले रंगशालाको निर्माणमा आगामी दिनमा पनि पूर्ण सहयोग गर्ने बताए । उनले रंगशालामा प्रदेश सरकारले गर्नुपर्ने काममा सहयोग गर्न पनि प्रतिवद्ध रहेको बताए ।

क्रिकेटबाट संन्यास लिएको साढे २ वर्षपछि राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का मैदान उत्रिएका छन् । उनी एक्स्ट्राटेक लिजेन्ड कप टी–१० मैत्रीपूर्ण क्रिकेट मैदान उत्रिएका हुन् । पारसले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । उनले सन् २०१४ को टी–२० विश्वकप खेलेको टोलीको नेतृत्व गरेका छन् ।

उक्त टीमले पहिलो खेल नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोलीसँग खेल्दैछ । लेजेन्डस १९९६ को नेतृत्व लेखबहादुर क्षेत्रीले गरेका छन् । यसअघि गत चैतमा पारसले टीम एसियन लायन्सबाट लिजेन्डस् क्रिकेट लिग खेलेका थिए । दुई खेल खेलेका पारसले १३ बलमा ११ रन जोडेका थिए ।

कतारमा भएको प्रतियोगिताको उपाधि पारस सम्मेलित एसियन लायन्सले जितेको थियो । रंगशालामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माण भइसकेका छन् । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइनेछ । करिव पाँच बिघा क्षेत्रफलमा उक्त रंगशाला बनिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.