Nepal Times
Nepal Times
3
Shares

राष्ट्रिय सभाका नयाँ अध्यक्ष दाहाल को हुन् ?

राष्ट्रिय सभाका नयाँ अध्यक्ष दाहाल को हुन् ?

२९ फागुन , काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा विजयी भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाल ३९ मतसहित राष्ट्रिय सभाको अध्यक्ष बनेका हुन् । राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए । यस्तोमा उनको पक्षमा ३९ र विपक्षमा १७ मत खस्यो ।

अध्यक्षमा विजयी भएका दाहालले अबको चार वर्ष राष्ट्रिय सभाको नेतृत्व गर्नेछन् । राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरिएको हो । माओवादीका केन्द्रीय सदस्य दाहाल २०७८ चैत २५ गते राष्ट्रिय सभामा रिक्त विज्ञ कोटाबाट राष्ट्रिय सभामा मनोनित भएका थिए ।

अधिवक्ता रामनारायण बिडारीको चार वर्षे कार्यकाल सकिएपछि फागुन २० गतेदेखि रिक्त भएको पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई ६ वर्षका लागि नियुक्त गरेकी थिइन् । एमालेबाट राष्ट्रिय सभा अध्यक्ष बनेका गणेशप्रसाद तिमल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएसँगै दाहालले उनको स्थान लिएका हुन् ।

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका उनी २०१२ साल चैत ६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका हुन् । दाहाल पुराना वामपन्थी नेता हुन् । उनी बुबा स्व.कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालको पहिलो सन्तान हुन् । २०१९ सालमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परिवारसँगै दाहालका परिवार चितवनको शिवनगरमा बसाइँ सरी आएका थिए ।

प्रचण्ड र नारायणका हजुरबा दाजुभाइ हुन् । यसैले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि नारायणलाई जोडेर परिवारवादको आरोप लाग्ने गरेको छ । प्रचण्डसँगै दाहाल २०२७ सालमा अनेरास्ववियुमा लागेका थिए । २०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०३७ सालमा पूर्णकालीन सदस्य भए ।

दाहालले २०३६ सालमा भरतपुरस्थित वीरेन्द्र क्याम्पसबाट आइए पास गरेका थिए । यसैगरी उनले भक्तपुरस्थित सानोठिमी क्याम्पसबाट स्नातक गरेका थिए । लामो समय प्रवासमा रहेर काम गरेका उनी २०३८ सालमा अखिल भारत एकता समाजको केन्द्रीय महासचिव भए । २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछि नेपाल फर्किएका उनी २०५२ सालमा माओवादी जनयुद्धमा सपरिवार होमिएका थिए ।

दाहाल युद्धकालभर प्रवासमै रहेर राजनीतिमा सक्रिय थिए । दाहालका श्रीमती, जेठा छोरा समिर, कान्छा छोरा दिनेश र छोरी कल्पना पनि युद्धमा होमिएका थिए । २०६२ सालमा तत्कालीन संसदवादी सात दल र विद्रोही माओवादीबिच १२ बुँदे सहमति भयो । २०६२÷३ सालको दोस्रो जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढल्यो ।

त्यसपछि बनेको अन्तरिम संसदमा उनी राष्ट्रपतिबाट मनोनित सदस्यका रुपमा सहभागी थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट निर्वाचित भए । २०७० सालमा सोही क्षेत्रबाट टिकट पाए पनि दाहाल पराजित भए । २०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उनी प्रशासनिक सल्लाहकारमा नियुक्त भएका थिए ।

दाहालले बागमतीका सचिव, अध्यक्ष र सह–इन्चार्ज भएर पार्टीको काम गरेका छन् । २०७८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत बनेका उनी २०८४ सम्म अध्यक्षमा कायम रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष संवैधानिक परिषदको सदस्यसमेत रहने प्रावधान छ । आज राष्ट्रिय सभामा अध्यक्ष पदमा निर्वाचित भएसंगै दाहालले सबै दलहरूसँग समन्वय गर्दै अघि बढ्ने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.