Nepal Times
Nepal Times
3
Shares

पुटिन पाँचौपटक राष्ट्रपतिमा निर्वाचित

पुटिन पाँचौपटक राष्ट्रपतिमा निर्वाचित

चैत ५ , एजेन्सी ।

रुसको राष्ट्रपतिमा भ्लामिदिर पुटिन पाँचौपटक निर्वाचित भएका छन् । तीन दिन चलेको मतदानपछि गएराति शुरु भएको गणनामा पुटिन पाँचौ पटक राष्ट्रपति पदमा निर्वाचित भएको रुसी समाचार संस्थाले जनाएका छन् । राष्ट्रपति पदको मतदान सकिएको केही घण्टामै पुटिनले आफूले भारी बहुमतले जित हासिल गरेको भन्दै मतदातालाई धन्यवाद दिएका थिए ।

यस्तै उनले रुसी लोकतन्त्र अमेरिका लगायत पश्चिमा देशहरुको भन्दा उन्नत रहेको समेत दाबी गरे । त्यहाँको निर्वाचन एजेन्सीले पुटिनको पक्षमा ८७ प्रतिशतभन्दा बढी मत खसेको बताएको छ । साढे ११ करोड मतदाता रहेको रुसमा ६७ प्रतिशत बढी मत खसेको थियो । आफ्ना प्रमुख विरोधी एलेक्सी नाभाल्नीको जेलमै रहस्यमय मृत्यु भएको एक महिनापछि पुटिन राष्ट्रपतिमा निर्वाचन गराएका हुन् ।

मतदानकै क्रममा नाभाल्नीका समर्थकले विभिन्न ठाउँमा सांकेतिक विरोध गरेका थिए । निर्वाचनमा पुटिन बाहेक अरु तीन कमजोर उम्मेदवार उठाइएको थियो । उनीहरु क्रेमलिनको अनुकल रहेको र डमी उम्मेदवारका रूपमा रहेको रुसका विपक्षीको आरोप छ ।

छिमेकी पोल्यान्डले मतदान निकै दमनको अवस्थाबीच भएको र त्यस्तो अवस्थामा स्वतन्त्र र लोकतान्त्रिक विकल्प छान्नु असम्भव भएको बताएको छ । जर्मनीले दमन र हिंसामा निर्भर शासकले देखाउनका लागि मात्रै चुनाव गराएको भन्दै आलोचना गरेको छ । बेलायतका विदेशमन्त्री क्यामरुनले युक्रेनी क्षेत्रमा अवैध चुनाव गराएको भन्दै निन्दा गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तानाशाहले एक अर्को चुनावी नाटक रचेको भन्दै आलोचना गरेका छन् । निर्वाचनका क्रममा स्वतन्त्र रुपमा निगरानी गर्ने समूहका ८० जनाभन्दा बढी सदस्य गिरफ्तार भएका थिए । सन् २००८ देखि २०१२ सम्मप्रधानमन्त्रीका रूपमा बाहेक पुटिन मे २००० देखि निरन्तर रुसको राष्ट्रपति छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.