चैत ५ , काठमाण्डौ ।
दुर्गा प्रसाईंका सुरक्षागार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालतमा बन्दुकसहित प्रवेश गरेपछि उनलाई पक्राउ गरिएको हो । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियारसहित प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले खड्कालाई पक्राउ गरिएको बताएका छन् ।
पक्राउ पर्नेमा खड्कासहित दुई जना रहेका छन् । आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंको मुद्दामा सुनुवाइ भइरहेको छ । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दा सोमबार न्यायाधीशहरु डा कुमार चुडा र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ । आइतबार न्यायाधीशहरु चुडाल र सुवेदीको संयुक्त इजलासमा वि एण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको मुद्दामा सुनुवाइ भएको थियो ।
तर बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा परेपछि आज सुनुवाइ भइरहेको हो । झापाको बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चले अग्राधिकार पनि प्रदान गरेको छ । यसअघि गत आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले प्रसाईंको मुद्दामा विषयको गाम्भीर्य तथा संवेदनशीलताको कारण अग्राधिकार दिने आदेश गरेको थियो ।
उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै चैत ४ गतेका लागि पेसी तोकिएको थियो । मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारबिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए । अहिलेसम्म यस मुद्दा ४८ पटक पेसीमा चढिसकेको थियो । यो ४९औं पेसी हो ।