चैत ५ ,काठमाण्डौ।
सत्ता समीकरण फेरबदल भएपछि एक चरणको अनुशन्धान सकिएपनि सुन तस्करी जाँचबुझ आयोगले दोषी ठहर गर्दै अनुशन्धान र काबाही गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएपछि सुनतस्करीमा मुछिएका यसअघि उम्किएका ठूला माछाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सत्तारुढ दल नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र यसअघि देखि प्रहरीले खोजिरहेका तथा पक्राउ नपरेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन रहेका छन् ।
यो घटनापछि प्रतिवेदनको पूर्ण कार्यान्वयनमा कटिवद्ध रहेको सरकार र खास गरी उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको प्रशंसा भइरहेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत सरकारलाई संसदबाट धन्यवाद दिएका छन् । सरकारलाई धन्यवाद सँगै गगनले गृहमन्त्री लामिछानेमाथि भने प्रश्नैप्रश्न गरेका छन् । थापाले सहकारी ठगी प्रकरणमाथि निष्पक्ष अनुसन्धान हुनेमा विश्वास गर्न नसकिने बताएका छन् ।
सहकारी ठगीमा मुछिएका लामिछाने नेतृत्वको प्रहरी प्रशासनबाट त्यसको निष्पक्ष अनुसन्धान हुन्छ भनेर पत्याउन नसकिने उनले बताए । प्रतिपक्षको ठाउँबाट सहकारी काण्ड फासफुस हुने खतरा देखिएको उनको भनाइ थियो । हजारौँ मानिस सहकारीबाट पीडित छन् । पोखराको सुर्यदर्शन सहकारीले १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा गरेको उनले बताए ।
‘पोखरा महानगरपालिकाले अध्ययन ग¥यो । अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो । सय जना मानिसले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ८८ पृष्ठमा यसरी नक्कली खाता खोल्ने मानिसहरू मध्येको एउटा नाम हो रवि लामिछाने,’ थापा भन्छन् ,‘माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ । भोलि प्रधानमन्त्री बन्नुहोला शुभकामना छ । बन्न पनि सक्नुहुन्छ । अलग विषय हो ।’
सहकारीबाट लामिछानेले गैर कानुनी रूपमा एक करोड लिएको उनको दाबी छ । ‘सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनले भन्छ यो गैर कानुनी छ । उहाँको स्पष्टीकरण सुनेँ । तीन मिनेट बिस सेकेन्डको थियो । स्पष्टीकरणमा भनिएको छ,’ लामिछानेको प्रस्टीकरणमाथि प्रश्न उठाउँदै उनले भने, ‘कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन । यस्तै मान्ने हो भने सम्माननीय महोदय सय जनै मानिसको रिपोर्ट पढेँ । सय जनाले एक अर्ब रुपैयाँ लिएको प्रकृति यही हो । कसैको धितो छैन । कोही सहकारीको सदस्य होइन । कुनै प्रक्रिया पु¥याइएको छैन । एक अर्ब झ्वाम्म ।’
रवि लामिछाने प्रबन्ध निर्देशक रहेको तत्कालीन गोरखा मिडियाले गैर कानुनी रूपमा पचासौँ करोड रुपियाँ लिएको उनले बताएका छन् । यसबारे पनि गृहमन्त्री लामिछानेले दिएको प्रस्टीकरणमाथि महामन्त्री थापाको प्रश्न छ । ‘त्यो प्रस्टीकरण ११ मिनेट ५३ सेकेन्डको थियो । त्यसपछि मेरा तीन वटा प्रश्न रहे । जो म प्रधानमन्त्रीलाई सोध्छु । २०७८ वैशाखदेखि ०७९ जेष्ठसम्म यसको सञ्चालक रवि लामिछाने पनि हुनुहुन्थ्यो । त्यो बेलामै सहकारीबाट दसौँ करोड लगिएको छ । जबकि एक सुक्का पनि लान पाइन्न । यो कम्पनी अहिले डुबिसक्यो,’ उनी भन्छन्, ‘स्पष्टीकरणमा भनिएको छ— मैले पैसा हालेको पनि छैन । मैले पैसा फिर्ता गरेको पनि छैन । बुटवलको सुप्रिम सहकारीबाट एक करोड रुपियाँ लिएर गएको छ । यो पनि गैर कानुनी छ । मैले फिर्ता लगिएको छैन भनिएको छ । कम्पनी रजिस्टारको कार्यालयमा तमसुक गरेर एक करोड असी लाख लिएर आएको सरकारी कागज बाहिर प्रमाणको रूपमा आएको छ । यो पनि गैर कानुनी छ ।
जीवी राई लगायतको समूह समूहले अर्बौँ रुपियाँ अपचलन गरेको भन्दै सबैभन्दा ठुलो पैसा ग्यालेक्सी टिभीमा गएको उनको दाबी छ । प्रहरीलाई पीडितहरूले जम्मा गरेर प्रमाण दिएको भन्दै त्यसमा मुछिएको मान्छेले अनुसन्धान गर्छ भनेर आफूहरूले कसरी पत्याउने भन्ने उनको प्रश्न छ । उनले भनेका छन्, नयाँ आएको मन्त्रीलाई काम गर्न दिनु तयार रहेको भन्दै निष्पक्ष अनुसन्धानको विश्वास खोजेको महामन्त्री थापाको भनाइ छ ।
कांग्रेसले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएर कुनै बखेडा झिक्न नखोसेको उनले प्रस्ट पारेका छन् । गगन लगत्तै बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै गृहमन्त्रीको रुपमा स्वीकार्न आँट गर्न आग्रह गरे । गगनलाई जवाफ दिँदै सांसद चौधरीले अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरु हेर्न आग्रह गरे । उनले सांसद थापालाई सत्ताका लागि पानी बिनाको माछाझैँ नतड्पिन सुझाव समेत दिएका छन् ।