Nepal Times
Nepal Times
3
Shares

माओवादी पनि उही ड्याङको मुला, नेता नै भन्छन् तोरीलाहुरे !

माओवादी पनि उही ड्याङको मुला, नेता नै भन्छन् तोरीलाहुरे !

६ चैत , काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेकै अवस्थामा माओवादीका दुई नेता पक्राउ परेका छन् । सुनतस्करी प्रकरणमा उपाध्यक्ष कृष्णबहादुर महरा र पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनको नाम सुन काण्डमा पनि जोडिएको छ ।

यस्तो अवस्थामा माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग भएको भन्दै कडा टिप्पणी गरेका छन् । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा पक्राउ परेकोप्रति लक्षित गर्दै उनले लाभको पदमा गएर वा लामो समयसम्म एउटै पदमा बसेपछि विकृति झाँगिएको बताएका छन् ।

उनले लेखेका छन्– ‘विकृतिको केन्द्र सत्ता हो, चाहे हिजोको नयाँ सत्ता होस्, चाहे हिजो हामीले भन्ने गरेको आजको पुरानो सत्ता होस् । जोजो पटक पटक लाभको पदमा गए वा लामो समयसम्म एउटै पदमा बसे, विकृति झाँगिएको त्यही छ । पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग हो, यसमा त्यत्रो सपना र बलिदानबाट आएको माओवादी पनि उहीं ड्याङको मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएको हो निरन्तर ।

यसकारण मलाई प्रचण्डविरोधी भनेर आरोप लगाउने गरिएको छ ।’ उनले आफूले सत्य कुरा राख्न जिल्लाहरु जान नदिनेगरी अवरोध गर्ने र कुनै कार्यक्रममा जाँदा कसले बोलायो यसलाई भनेर आयोजकलाई झपार्ने गरेको सुनेको उल्लेख गरेका छन् । उनले थपेका छन्– ‘जसले आफूलाई प्रचण्डको खास मान्छे भन्दै शासन चलाएका छन् । ती तोरीलाउरेहरुले आजभोलि के सोच्दै होलान् ? दुःख लाग्छ, यस्ताहरुले माओवादी आन्दोलनको नेतृत्व गरेपछि हुने यस्तै हो ।’

यसैबीच पछिल्लो घटनाक्रमका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठकमा छलफल गरेका छन् । मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो । बैठकमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष महरा पक्राउको विषयमा पदाधिकारी बैठकमा छलफल भएको र पार्टीले पुनः बैठक बसेर निर्णय गर्ने बताएका छन् ।

उनले महरा पक्राउ परेको सम्बन्धमा विविध पक्षबाट छलफल भएको र पार्टीको अर्को पदाधिकारी बैठकले महराको विषयमा आधिकारिक रुपमा टुंगो लगाउने बताएका छन् । बैठककै क्रममा प्रधानमन्त्रीले ने महरालाइ फोन गरेर निलम्बन वा राजीनामाका विषयमा कुराकानी गरेका थिए । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो ।

लगत्तै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सोही प्रतिवेदनपछि गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो । उनको अनुशन्धानका लागि अदालतले ४ दिनको समय दिएको छ भने पुनलाई ८ दिनको समय दिएको छ । प्रहरी हिरासतमा रहेका महरा अहिले नर्भिक अस्पतालमा छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.