Nepal Times
Nepal Times
3
Shares

६ क्रिकेटरको आईपीएलमा पुनरागमन, धोनीले किन त्यागे ?

६ क्रिकेटरको आईपीएलमा पुनरागमन, धोनीले किन त्यागे ?

८ चैत , विराटनगर ।

क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबार हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ । चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेर पाँचपटक आईपीएलको उपाधि जितिसकेको चेन्नईले यसपटक भने अन्तिम समयमा आएर कप्तान परिवर्तन गरेको छ ।

आईपीएल सुरु हुनु ठीक एक दिनअघि चेन्नई सुपर किंग्सले आफ्नो कप्तान परिवर्तन गरेको छ । आईपीएलको पहिलो सिजनदेखि नै महेन्द्र सिंह धोनी टोलीको कप्तान थिए । यसबीचमा रविन्द्र जडेजाले यो जिम्मेवारी पाए पनि उनको असफलताका कारण धोनीलाई फेरि कप्तान बनाइएको थियो । तर आज ओपनर रुतुराज गायक्वाडलाई टिमको नयाँ कप्तान घोषणा गरिएको छ । उनले भारतीय टिमको कप्तानी समेत गरिसकेका छन् ।

नयाँ कप्तानको च्याम्पियन टिमसँग फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गालोरले प्रतिस्पर्धा गर्दैछ । उसले हालसम्म एक पटक पनि उपाधि उचाल्न सकेको छैन । आईपीएलले पहिलो चरणमा १८ दिनको खेल तालिका मात्रै सार्वजनिक गरेको छ ।

भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राखेर आईपीएलले अप्रिल ७ सम्म हुने खेलको तालिका मात्रै सार्वजनिक गरेको हो । जुन २१ मा सकिने लोकसभाको निर्वाचनपछि आईपीएलका बाँकी खेलहरू हुनेछन् ।

१७औं संस्करणको आईपीएलमा विश्वका स्टार खेलाडीहरुले पुनरागमन गर्दैछन् । जसमा एक हुन्, कोलकाताबाट खेल्ने मिचेल स्टार्क । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क २०१५ पछि पहिलोपटक आईपीएल खेल्दैछन् ।

२०१४ र २०१५ को संस्करण बैंलोरबाट खेलेका उनले आफ्नो देश र परिवारलाई पर्याप्त समय दिन भन्दै आईपीएल नखेल्ने निर्णय लिंदै आएका थिए । २०१८ को अक्सनमा स्टार्कलाई कोलकाताले ९ करोड ४० लाख भारुमा किने पनि चोटका कारण खेलेका थिएनन् ।

स्टार्कले त्यसपछि अक्सनमा नाम दिएका थिएनन् । यस पटक अक्सनमा इतिहासकै सर्वाधिक २४ करोड ७५ लाख भारु खर्चेर कोलकाताले किनेको थियो । गति र योर्करमा माहिर स्टार्कबाट कोलकाता अष्ट्रेलिया टोलीमा जस्तै सानदार प्रदर्शन चाहन्छ । यस्तै अर्का सुपरस्टार हुन्, प्याट कमिन्स । अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले गत वर्ष विश्वकप र एसेजलाई समय दिने भन्दै आईपीएल नखेल्ने निर्णय लिएका थिए ।

गत नोभेम्बरमा विश्वकपको फाइनलमा अपराजित भारतलाई उसकै घरेलु मैदानमा हराउन कमिन्सले उत्कृष्ट कप्तानी र प्रदर्शन गरेपछि अक्सनमा सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा किनेको थियो । कमिन्स तीव्र गतिसँगै तल्लो क्रममा ठूलो सटको क्षमता राख्छन् । २०२० देखि २२ सम्म उनले कोलकाताबाट आईपीएल खेलेका थिए ।

भारतका योर्कर किंग जस्प्रित बुमराहले गत वर्ष आईपीएल ब्याक पेनका कारण खेलेका थिएनन् । प्रमुख तीव्र गतिका बलर बुमराह फर्किंदा पाँच पटकको च्याम्पियन मुम्बईको बलिङ आक्रामण मजबुत बन्नेछ । उनले १२ करोड भारु पाउनेछन् ।

चोटपछि फर्किएपछि बुमराहले भारतलाई गत अक्टोबर नोभेम्बरमा फाइनलमा पु¥याउन सानदार प्रदर्शन गरेका थिए । यस्तै अर्को स्टार नाम हो, ट्रविस हेड । गत नोभेम्बरमा अष्ट्रेलियालाई विश्वकप फाइनलमा हराउन १३७ रनको सानदार शतकीय इनिङ खेलेका हेड २०१७ पछि आईपीएलमा फर्किंदैछन् ।

उनले २०१६ मा बेंगलोरबाट आईपीएलमा डेब्यू गरेका थिए । पछिल्लो समय लगातार आक्रामक कक्रिकेट खेल्दै आएका हेडलाई गतअक्सनमा हैदरावादले ६ करोड ८० लाख रुपैयाँ खर्चेको थियो । यस्तै दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त २०२२ डिसेम्बरमा कार दुर्घटनामा परेपछि पहिलो पटक क्रिकेटमा फर्किंदै छन् । विकेटकिपर पन्त गम्भीर दुर्घटनामा परेपछि उनलाई रिकभर हुन समय लागेको थियो ।

यस पटक कप्तानको रुपमा फर्किने दिल्लीले जनाइ सकेको छ । युवा ब्याटर तथा कोलकाताका कप्तान श्रेयस ऐयर पनि २०२२ पछि आईपीएलमा फर्किदैछन् । श्रेयस ऐयर गत वर्ष ब्याक सर्जरीको कारण आईपीएल गुमाएका थिए । ऐर फर्किंदा मध्यक्रम ब्याटिङ मजबुत बन्नेछ । स्टार्कलाई कीर्तिमानी मूल्यमा किनेको कोलकाताले ऐरको आगमानमा उपाधि जित्ने लक्ष्य राख्नेछ ।

सुपरस्टार खेलाडीहरुपछि अब कुरा गरौं हालसम्म सर्वाधिक सफल टोलीको । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता सन् २००८ मा सुरु भएको हो । आईपीएल सुरु भएदेखि हालसम्म १६ वटा संस्करण सम्पन्न भइसकेको छ । तर, हालसम्म सातवटा टोलीले मात्र आईपीएलको उपाधि चुम्न सकेका छन् । त्यसमध्ये आईपीएलको १० वटा उपाधि त केवल दुईवटा टोलीले चुमेका छन् ।

आईपीएलको इतिहासमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स सबैभन्दा सफल टोली हुन् । यी दुवै टोलीले हालसम्म पाँच–पाँच पटक आईपीएलको उपाधि जितेका छन् । त्यसमध्ये पनि मुम्बई इन्डियन्स सबैभन्दा पहिले पाँचपटक आईपीएलको उपाधि भित्राउने टोली हो।

मुम्बई इन्डियन्सले सन् २०१३ मा पहिलो उपाधि चुमेको थियो । त्यसपछि सन् २०१५ मा दोस्रो उपाधि जितेको मुम्बई इन्डियन्सले सन् २०१७ मा तेस्रो उपाधि भित्राएको थियो । मुम्बई इन्डियन्सले सन् २०१९ मा चौथो र सन् २०२० मा पाँचौँ उपाधि हात पारेको थियो ।

यसैगरी चेन्नई सुपर किङ्सले पनि हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । चेन्नई सुपर किङ्सले सन् २०१० मा पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि चेन्नईले सन् २०११ मा दोस्रो र सन् २०१८ मा तेस्रो पटक उपाधि जित्यो । चेन्नईले सन् २०२१ मा चौथो र सन् २०२३ मा पाँचौँ पटक उपाधि हात पारेको थियो । चेन्नईलाई ५ पटक च्याम्पियन बनाएका धोनीले भने यसपटक कप्तानी छाडेका छन्।

उनले कुल २ सय २६ खेलमा कप्तानी गरेका छन् र १ सय ३३ जित हासिल गरेका छन्। उनको टोलीले ९१ खेलमा हार बेहोरेको छ भने २ खेल अनिर्णित रह्यो । धोनीको यो फैसलाले उनका करोडौं समर्थकहरुलाई निराश बनाएको छ । यसैगरी कोलकाता नाइट राइडर्सले हालसम्म दुईपटक आईपीएलको उपाधि जितेको छ । कोलकाताले सन् २०१२ मा पहिलो र सन् २०१४ मा दोस्रो पटक उपाधि चुमेको हो ।

यसका अतिरिक्त राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स र डेक्कन चार्जसले पनि एक–एक पटक आईपीएलको उपाधि जितेका छन् । राजस्थान रोयल्सले सन् २००८ मा आईपीएल जितेको थियो । राजस्थान रोयल्स आईपीएलको उपाधि जित्ने पहिलो टोली पनि हो । सनराइजर्स हैदराबादले भने सन् २०१६ मा उपाधि हात पारेको थियो । गुजरात टाइटन्सले सन् २०२२ र डेक्कन चार्जसले सन् २००९ मा उपाधि जितेका थिए ।

यस्तै आईपीएल सुरु भएदेखि हालसम्म सर्वाधिक सफल कप्तानको विषयमा चर्चा गर्नुपर्दा आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तानमा रोहित शर्मा र महेन्द्रसिंह धोनी हुन् । महेन्द्रसिंह धोनी भारतीय टोलीका पूर्वकप्तान हुन् भने रोहित शर्मा वर्तमान कप्तान हुन् । यी दुवैले आईपीएलमा हालसम्म आफ्नो टोलीलाई पाँच–पाँच पटक उपाधि चुमाइसकेका छन् । त्यसमध्ये पनि रोहित शर्मा आफ्नो टोलीलाई पाँचपटक आईपीएलको उपाधि चुमाउने पहिलो कप्तान हुन् ।

यो रेशमा अब धोनी भने बाहिरिसकेका छन् । यसैगरी गौतम गम्भीरले पनि कप्तानको भूमिकामा हालसम्म दुईपटक आईपीएलको उपाधि जितिसकेका छन् । यसैगरी अस्ट्रेलियाका शेन वार्न, एडम गिलक्रिस्ट र डेभिड वार्नरले पनि कप्तानको भूमिकामा एक–एक पटक आईपीएलको उपाधि जितेका छन् । राजस्थान रोयल्सले सन् २००८ मा पहिलो संस्करणको उपाधि जित्दा शेन वार्न टोलीका कप्तान थिए ।

यसैगरी सन् २००९ मा डेक्कन चार्जसले आईपीएलको दोस्रो संस्करणको उपाधि जित्दा एडम गिलक्रिस्ट टोलीका कप्तान थिए । सन् २०१६ मा सनराइजर्स हैदराबादले आईपीएलको उपाधि चुम्दा भने अस्ट्रेलियाका डेभिड वार्नर टोलीका कप्तान थिए । यसका अतिरिक्त भारतका हार्दिक पाण्ड्याले पनि कप्तानको रूपमा एकपटक आईपीएलको उपाधि जितेका छन् । सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा हार्दिक पाण्ड्या टोलीको कप्तान रहेका थिए ।

अब शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादको सहभागिता रहने छ । शुक्रबारदेखि सुरु हुने आईपीएल हेर्न तपाइँ कत्तिको उत्सुक हुनुहुन्छ, यससंस्करणको च्याम्पियन को होला ?

खेलको एक दिन अघि धोनी कप्तानीबाट हट्दा यसको असर सफल टिम चेन्नईको आइपिएल यात्रा कस्तो रहला ? कमेन्टमा गएर बताउनुहोला । यस्तै तपाईलाई मन पर्ने टोली, कप्तान र खेलाडीहरुका बारेमा पनि आफ्ना टिप्पणी राख्न सक्नुहुनेछ ।

पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोर आमने सामने हुँदा तपाइँका प्रेडिक्सन पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.