१० चैत, काठमाण्डौ ।
कार दुर्घटनामा परेका ‘कमेडी च्याम्पियन’का सञ्चालक तथा फिल्म निर्देशक विशाल भण्डारी अझै प्रहरीको नियन्त्रणमा छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी वसन्त पाठकका अनुसार घटना अनुसन्धानका लागि निर्देशक भण्डारी र पुजन अधिकारीलाई शुक्रबारदेखि भक्तपुरको जगातीस्थित प्रहरी वृत्तको नियन्त्रणमा राखिएको हो ।
दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए । तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको छ ।
‘दुर्घटनामा परेको कार दुई जनामध्ये कसले चलाएको भन्ने विषयमा सोधपुछ भइरहेको छ’, डीएसपी पाठकले भने, ‘विशाल भण्डारीले नै चलाएका थिए भन्ने बुझिएको छ, तर उनले चाहिँ पुजनले चलाएको भनिरहेका छन् । यही स्पष्ट नभएकाले उनीहरूलाई प्रहरीको नियन्त्रणमै राखिएको हो।’
शुक्रबार बिहान भक्तपुरकै नगरकोटबाट फर्किंदै गरेको बा–१–०२६ ०३५९ नम्बरको कार जगातीमा रोकिराखेको टिप्परसँग ठोक्किँदा कारमा सवार विशाल भण्डारीसहित ४ जना घाइते भएका थिए । घाइतेमध्ये सुशान्त बस्यालको अवस्था अलि गम्भीर रहेको र उनको उपचार मध्यपुर ठिमी अस्पतालमा जारी रहेको डीएसपी पाठकले जानकारी दिए ।
‘अन्य घाइतेको अवस्था सामान्य रहेको बुझिएको छ’, उनले भने, ‘प्रहरीको नियन्त्रणमा रहेका भण्डारी र अधिकारी त हिजै डिस्चार्ज भएका हुन्।’ गम्भीर घाइते सुशान्तसँगै अर्का एक जना पनि उपचाररत रहेको तर उनको अवस्था सामान्य रहेको उनले बताए । रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका छन् ।