Nepal Times
Nepal Times
3
Shares

क्रिकेटरलाई पुरस्कारकै चिन्ता,सरकारले घोषणा गर्छ तर दिँदैन्

क्रिकेटरलाई पुरस्कारकै चिन्ता,सरकारले घोषणा गर्छ तर दिँदैन्

१५ चैत , काठमाण्डौ।

नेपाली क्रिकेट टोलीका अहिलेसम्मका प्रशिक्षक मध्ये एक सफल प्रशिक्षकमा पर्दछन् प्रशिक्षक मोन्टी देशाई । देशाई अहिले क्रिकेटमा नेपाललाई इतिहास रचाउन दिलोज्यान दिएर लागिरहेका छन् । देशाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।

आईसीसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाई कार्यक्रममा प्रशिक्षक देशाईले उक्त धारणा राखेका हुन् । प्रशिक्षक देशाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (यूएई) मा एसीसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षकको भनाइ छ । डिफेन्डिङ च्याम्पियनका रूपमा एसीसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको प्रशिक्षक देशाईको भनाइ छ ।

पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने देशाईले बताएका छन् । यस्तै नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०÷६० प्रतिशत मात्र पाएको उल्लेख गर्दै ट्वान्टी–२० विश्वकप अगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताए ।

एसीसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गरे । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मन नै मर्नसक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिए । साथै उनले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राखे ।

यस्तै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट टिमले एसिया कप खेल्ने विश्वास व्यक्त गरे । बिदाइ कार्यक्रममा पारसले नेपालले विगतजस्तै आउँदो वर्ष हुने एसिया कप खेल्ने विश्वास व्यक्त गरेका हुन् । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी–२० शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।

मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले भारतको गुजरात र बरोडा क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । ‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको पहिलो खेल मार्च ३१ तारिखमा नेपाल र गुजरातबिच खेलिने छ । शृङ्खलामा तेस्रो टोलीको रूपमा बरोडा रहेको छ ।

यसैगरी अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ । अर्को खेल अप्रिल ४ तारिखमा बरोडा र गुजरातबिच खेलिने छ । लिग चरणको अन्तिम खेल अप्रिल ५ तारिखमा नेपाल र बरोडाबिच खेलिने कार्यक्रम रहेको छ । त्यसपछि लिग तालिकाको सबैभन्दा माथि रहने दुई टोलीबिच अप्रिल ७ तारिखमा शृङ्खलाको फाइनल खेल खेलिने छ ।

भारत प्रस्थान गर्नुअघि नेपाली टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ टोलीसँग दुईवटा टी–२० खेलको शृङ्खला खेलेको थियो । शृङ्खलामा नेपाल २–० ले विजयी भएको थियो । गुजरात र बरोडा दुवै भारतको घरेलु क्रिकेटका बलिया टोली हुन् । यी दुवै टोलीले भारतको चर्चित घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्छन् ।

यी टोलीले भारतको घरेलु प्रतियोगिता विजय हजारे ट्रफी र सैयद मुस्ताक अली ट्रफीमा पनि उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । नेपाल भारत भ्रमणपछि एसीसी प्रिमियर कपका लागि जानेछ । त्यो प्रतियोगिता जित्ने टिमले एसिया कप खेल्नेछ । ट्वान्टी–२० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.