१७ चैत , काठमाण्डौ ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अब अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ । बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन हुने स्नातक, स्नातकोत्तर लगायत उच्च तहको पढाई नेपाली तथा अंग्रेजी दुबै दुबै भाषामा हुनुपर्ने माग उठ्दै आइरहेको थियो । बैठकले आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गर्ने र क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागू गर्ने निर्णय पनि गरेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार स्नातक तह पहिलो वर्षको आउँदो परीक्षाबाटै प्रश्नपत्रमा अंग्रेजीका साथै नेपाली भाषामा पनि उल्लेख हुने निर्णय कार्यान्वय गरिनेछ । त्यसपछि दोस्रो, तेस्रो र चौथो वर्षको परीक्षाको प्रश्नपत्रमा लागु गरिनेछ । यसअघि प्रश्नपत्र अंग्रेजी भाषामा हुन्थ्यो ।
सरोकारवालाहरूले अंग्रेजीका साथै नेपाली भाषा पनि उल्लेख गर्न माग गर्दै आएका थिए । भाषाकै कारण विद्यार्थीहरू विद्यार्थीहरूको नतिजामा असर गरेको भन्दै नेपाली भाषा पनि राख्न माग गरिएको थियो । सोअनुसार त्रिविले अब स्नातक तहको सबै संकायमा अंग्रेजीबाहेक अन्य विषयका प्रश्नपत्रमा अंग्रेजीसँगै नेपाली भाषामा पनि उल्लेख रहने निर्णय गरेको हो ।