Nepal Times
Nepal Times
3
Shares

बुवाको दाहसंस्कार गरेर फर्किँदै गरेका छोरा बेपत्ता, ५ आफन्तको मृत्यु

बुवाको दाहसंस्कार गरेर फर्किँदै गरेका छोरा बेपत्ता, ५ आफन्तको मृत्यु

१७ चैत , काठमाण्डौ ।
त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खस्दा ५ जनाको निधन भएको छ । चितवन–पृथ्वीराजमार्गको मुग्लिन नजिक आज बिहान काठमाडौंबाट गोरखा आउँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ५ जनाको निधन भएको छ भने एकजना बेपत्ता छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान सवा सात बजे बा २ ज ४१९६ को ट्याक्सी पृथ्वीराजमार्गको मुग्लिनदेखि एक किलोमिटर पर इच्छाकामना गाउँपालिका–५ सिमलधारामा दुर्घटना भएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार निधन हुनेमा ट्याक्सी चालक गोरखा–७ का ३५ वर्षीय अर्जुन सिर्मल र सोही ठाउँकी ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया र २८ वर्षकी अञ्जना रोकाया र नौ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।

सडकदेखि झण्डै ७० मिटर तल नदीमा खसेको सो ट्याक्सीको आधा भाग डुबेको डिएसपी भण्डारीले बताए । ट्याक्सीमा रहेका गोरखा–७ का १८ वर्षीय दिवस रोकाया बेपत्ता छन् । उनको खोजी भइरहेको डिएसपी भण्डारीले बताए । पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ । सो ट्याक्सीमा सवार ६ जना आफ्ना परिवारका सदस्यको दाहसंस्कार गरी फर्किँदै गरेको खुलेको छ ।

क्यान्सर रोगले मृत्यु भएका शंकर रोकाको दाहसंस्कार गरेर फर्किने क्रममा परिवारजन चढेको ट्याक्सी त्रिशुलीमा खसेको हो । हिजो शुक्रबार काठमाडौँ पशुपतिमा शंकरको दाहसंस्कार गरिएको थियो । हिजो बुबालाई दागबत्ति दिएर फर्किएका १८ वर्षीय विवश अहिलेसम्म त्रिशुली नदीमा नै हराइरहेका छन् । ट्याक्सी चालक अर्जुन श्रीमल भने जुनमाया रोकाको माइलो ज्वाइँ हुन् ।

प्रहरीका अनुसार शंकरका आफन्त काठमाडौँबाट तीनवटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.