१८ चैत , एजेन्सी ।
युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) रुसी मिसाइल आक्रमणबाट ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेगोले जनाएको छ । गएको मार्च २२ तारिखमा मिसाइल आक्रमण भएको र प्लान्टको सबै एकाइलाई नष्ट बनाएको कम्पनीले जानकारी दिएको हो । प्लान्टका सहायक उपकरण पनि क्षतिग्रस्त भएका छन् ।
कामदारले अहिले साइटमा भग्नावशेष सफा गरिरहेका छन् । गएको मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा ड्रोन प्रहार गरेको युक्रेनको दाबी छ । युक्रेनी अधिकारीले देशको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टीपीपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो । यता हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ ।
इजरायल रक्षा बल (आईडीएफ) ले यसबारेमा जानकारी गराएको हो । हिजबुल्लाह अधिकारीलाई बाजोरीह क्षेत्रमा गाडीमा सवार हुँदा निशाना बनाइएको थियो । लेबनानी सैन्य स्रोतहरूकले इजरायली हमलामा सात हिजबुल्लाह सदस्यहरू मारिएको बताए ।
जसमा उत्तरी सिरियामा ६ र दक्षिणी लेबनानमा एक जनाको मृत्यु भएको थियो । लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायल बीच चलिरहेको द्वन्द्वको परिणामस्वरूप लेबनानी पक्षमा ३९५ जनाको मृत्यु भएको छ । जसमा २५४ हिजबुल्लाह लडाकु र ७३ नागरिकहरू छन् ।