१८ चैत , एजेन्सी ।
पाकिस्तानी क्रिकेट टिमको कप्तानमा बाबर आजमले फेरि जिम्मेवारी पाएका छन् । आइतबार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजमलाई टी२०आई र ओडीआईका लागि कप्तान नियुक्त गरेको हो । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले सेलेक्शन कमिटीको सिफारिसपछि बाबरलाई यो जिम्मेवारी दिएका हुन् ।
टेस्ट टीमको कप्तान भने शान मसूद नै रहने छन् । यसै वर्षको सुरुमा भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले निराशाजनक प्रदर्शन गरेपछि बाबरलाई कप्तानीबाट हटाइएको थियो । तर, हालै पाकिस्तानमा सम्पन्न पाकिस्तान सुपर लिग प्रतियोगितामा बाबरले उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई फेरि कप्तान बनाइएको हो ।
त्यसो त बाबरलाई हटाएर फास्टबलर शाहिन शाह अफ्रिदी अस्ट्रेलिया र न्युजील्यान्ड भ्रमणका लागि कप्तान बने पनि उनको प्रदर्शन विर्सनलायक बनेको थियो । त्यसपछि पीएसएलमा पनि अफ्रिदीले निराशाजनक प्रदर्शन गरेपछि उनलाई कप्तानीबाट हटाउनुपर्ने आवाज उठ्न थालेको थियो ।
आफूलाई जानकारी नै नदिएर कप्तानीबाट हटाइएपछि अफ्रिदी असन्तुष्ट बनेको जनाइएको छ । आगामी अप्रिलमा न्युजिल्यान्डले पाकिस्तान भ्रमण गर्दै छ । जसमा पाकिस्तानी टिमको कप्तानी बाबर आजमले गर्नेछन् । पाकिस्तानको टोलीले पछिल्लो वर्षहरुमा राम्रो प्रदर्शन गर्न सकेको छैन ।
वल्र्ड कप २०२३ मा पाकको टोली समूह चरणबाटै बाहिरिएको थियो । पाकिस्तानले ९ मा मात्रै ४ म्याचमात्रै जितेको थियो ।