१८ चैत , काठमाण्डौ ।
महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गरेको हो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।
पद रिक्त भएको करिब एक वर्षपछि संवैधानिक परिषद्ले महालेखा परीक्षकमा रायालाई सिफारिस गरेको हो । विष्णु पौडेल अर्थमन्त्री भएको बेला उनी अर्थ सचिव थिए । यसअघि राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि उनले सचिवको जिम्मेवारी निभाएका थिए ।
संवैधानिक परिषदको सचिवालयले साउन २० गते महालेखा परीक्षक नियुक्त हुन इच्छुकहरुसँग आवेदन मागेको थियो । रायसहित १६ जनाले महालेखा परीक्षक बन्न दाबेदारी प्रस्तुत गरेका थिए । आवेदन दिनेहरूमा पूर्वसचिव शिशिरकुमार ढुंगाना, राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शंकर खरेल, बाबुराम गौतम थिए ।
महालेखा परीक्षक बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा बीस वर्ष अनुभव प्राप्त गरेको व्यक्ति योग्य हुन्छ ।
महालेखा परीक्षक संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ । अब संसदीय सुनुवाइबाट अनुमोदन भएमा राया राष्ट्रपतिबाट नियुक्त हुनेछन् । यस्तै अझैपनि निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा एक–एक सदस्य रिक्त छ ।
तर आज बसेको बैठकले ती चार संवैधानिक आयोगको नियुक्तिबारे भने निर्णय लिन सकेन । राजनीतिक भागबन्डा नमिलेकाले नियुक्ति सिफारिस हुन नसकेको हो । एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि आइतबार पहिलोपटक परिषद्को बैठक बसेको हो ।
बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसहित सदस्यहरू प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना सहभागी भएका थिए ।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्मा सत्ता समीकरणसँगै शक्ति संरचना पनि फेरिएको छ ।